हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालले मंगलबार (आज) बाट मुटुरोग सम्बन्धि सेवा विस्तार गरेको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले सेवाको संयुक्त रुपमा शुभारम्भ गरेका छन्।
सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले हेटौँडा अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा फड्को मारेका बताए।
‘बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको यो अस्पताल प्रादेशिक अस्पतालहरुमध्येको सबैभन्दा ठूलो अस्पताल हो,’ मुख्यमन्त्री लामाले भने, ‘प्रदेश स्थापनापछि हेटौँडा अस्पतालको संरचना बढेको छ। सेवा सुविधा पनि थपिएका छन्।’
उनले प्रदेश सरकारको स्याहार संहारका कारण हेटौँडा अस्पतालसहित १३ वटै प्रादेशिक अस्पतालहरुको सेवा विस्तार भएको बताए। बाँकी अस्पतालहरुमा पनि मुटुरोग सम्बन्धि सेवाको विस्तार गरिने जानकारी उनले दिए।
कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मुटु रोग सम्बन्धि उपचारका लागि आवश्यक पर्ने क्याथलक उपकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। हेटौँडा अस्पतालको गुणस्तर बृद्धि गर्न स्वास्थ्य मन्त्रालउले सधैँ साथ दिने बताउँदै मन्त्री थापाले प्रदेशका अन्य अस्पतालहरुमासमेत मुटु रोग सम्बन्धि उपचार सेवाको सुरुवात गरिने प्रतिवद्धता व्यक्त गरे।
रोटरी क्लब अफ मकवानपुरले हेटौँडा उपमहानगरपालिकासँगको साझेदारीमा १ करोड रुपैयाँ मूल्य बराबरको मुटु परीक्षण उपकरण डेढवर्ष अघि नै अस्पताललाई उपलब्ध गराएको थियो।
उपकरण प्राप्त भएपनि मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टर नहुँदा अस्पतालले उक्त उपकरणलाई थक्याएर राखेको थियो। टिचिङ अस्पतालबाट मुटु रोग विशेषज्ञ डा.विकेश श्रेष्ठ अस्पतालमा हाजिर भएसँगै अब हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धि उपचार सेवार सुरु भएको हो।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भीमसागर गुरागाईंका अनुसार अब मुटु रोगको उपचारको लागि काठमाडौँ, भरतपुर जस्ता ठूला सहर धधाउनुपर्ने समस्याको अन्त्य भएको छ।
हेटौंडा अस्पतालबाट नै गुणस्तरीय सेवा पाउनेगरी मुटु सम्बन्धि चेकजाँच र उपचार थालिने उनले बताए।
अस्पतालमा अब मुटुको इको, ईसीजी, टीएमटी जस्ता परीक्षण गर्न सकिने छ। तत्काल मुटु रोग सम्बन्धी ओपिडी सेवा सञ्चालन गरिने अस्पताल प्रशासनले जनाएको छ।
दुईजना चिकित्सकबाट हाल उपचार तथा परीक्षण गर्ने र क्रमशः व्यवस्थापन गर्दै आगामी वर्षमा थप विशेषज्ञ सेवासहित सर्जरी लगायतका सेवा विस्तार गर्ने योजना अस्पताल प्रशासनले बनाएको छ।
मुटु रोग सम्बन्धि चेक जाँचको लागि उपकरण उपलब्ध भएपनि मुटुको अपरेसन, हर्ट अट्याक भएका बिरामीलई उपचार गर्ने, पेस मेकर राख्ने, लगाएतको सेवा सुविधाको लागि क्याथलकको आवश्यकता पर्ने तर उक्त सुविधाको लागि आवश्यक उपकरण हाल अस्पतालमा नरहेको मुटु रोग विशेषज्ञ डा.विकेश श्रेष्ठ बताउँछन्।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत सञ्चालित हेटौँडा अस्पतालमा अहिले तीन सय बेड सञ्चालनमा छन्। ९५ जना विशेषज्ञ चिकित्सहित तीनसय पाँच स्वास्थ्यकर्मी कार्यरत रहेको यस अस्पतालमा दैनिक १५ सय भन्दा बढी बिरामीले सेवा लिदै आएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गुरागाईंले बताए।
केही समयभित्र २ सय बेड थप गर्नका लागि अस्पताल परिसरमा ५ तले भवन निर्माणाधीन अवस्थामा छ। केही वर्षअघिसम्म ‘रिफर अस्पताल’को रुपमा परिचित हेटौँडा अस्पताल पछिल्लो समय यस क्षेत्रका बिरामीहरुको भरपर्दो र विश्वासिलो स्वास्थ संस्थाको रुपमा परिणत भएको छ। यहाँ मकवानपुर सहित बारा, रौतहट, विरगञ्ज लगाएतका छिमेकी जिल्लाहरुबाटसमेत बिरामी उपचारका लागि आउने गरेका छन्।
Shares

प्रतिक्रिया