ad ad

समाज


इन्द्रजितका वकिलको जिकिर : उहाँ देशको गहना हो, कसरी थुन्न मिल्छ?

इन्द्रजितका वकिलको जिकिर : उहाँ देशको गहना हो, कसरी थुन्न मिल्छ?

उजिर कार्की
जेठ २५, २०८० बिहिबार १९:१८, काठमाडौँ

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पुर्पक्षका क्रममा थुन्न नमिल्ने तर्क उनका वकिलले गरेका छन्। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली शरणार्थी प्रकरणका अभियुक्त राईको तर्फबाट बहस गर्दै वकिलले उनी निर्दोष रहेको दाबी गरे। 

अधिवक्ता दिलकुमारी राईले इन्द्रजित नेपालको गहना भएको दाबी गर्दै उनलाई राज्यले नै नेपाल झिकाएको दाबी गरिन्। इजलासमा उनले भनिन्, ‘उहाँ (इन्द्रजित राई) भारतमा प्रोफेसर हुनुहुन्थ्यो, राज्यले आवश्यक ठानेर बोलाएपछि आउनु भएको हो। राज्य आफैँले बोलाएर ल्याएको मान्छेलाई थुन्न मिल्छ?’

राई भारतमा पेन्सन पाकेपछि नेपाल फर्किएका हुन्। 

‘उहाँ देशको गहना हो, विज्ञ बेञ्चले उहाँले गरेको योगदान हेरेर आदेश गर्नुपर्छ,’ अधिवक्ता राईले भनिन्। 

उनले राई गृहमन्त्रीको सल्लाहकार मात्रै भएकाले गृहमन्त्री र सचिवलाई छाडेर सल्लाहकारलाई मात्रै फसाइएको पनि गुनासो गरिन्। सहप्रतिवादीले पोलेकै भरमा पक्राउ गरिएको र अनुसन्धानदेखि नै इन्कार गर्दै आएकाले निर्दोष रहेको दाबी उनको छ। 

अधिवक्ता प्रकाश केसीले पनि इन्द्रजितलाई थुनामा राख्न नहुने दाबी गरे। इन्द्रजित निर्दोष रहेको भन्दै उनले इजलासमा भने, ‘कसैले आरोप लगाउँदैमा जेल जानु पर्ने हो? कसैसँग चिनजान हुँदैमा अपराध हुँदैमा। अभियोग लगाउने सरकारी वकिललाई पनि मैले मुद्दा कमजोर बनाउन भन्दै ३ करोड दिएँ भनेँ भने उहाँलाई पनि ल्याएर थुन्न मिल्छ? यस्तै हो भने त थुन्न प¥यो नि।’

सहप्रतिवादीले भन्दैमा मुद्दा लगाउने हो भने बयानका क्रममा प्रतिवादीहरुले नाम लिएका व्यक्तिलाई किन छोडियो भन्दै उनले प्रश्न गरेका थिए। 

इन्द्रजित रोगी पनि भएकाले लामो समय जेलमा राख्न नमिल्ने केसीले बताए। 

‘रोगी मान्छे डेढ महिनादेखि हिरासतमा हुनुहुन्छ। झण्डै ७५ वर्षको मान्छेलाई यसरी थुन्न मिल्छ? उहाँलाई छाडियो भने यो प्रमाण नष्ट हुन्छ भनेर अभियोगकर्ताले भन्न सक्नु भएको छैन,’ उनले भने, ‘उहाँ वृद्धमान्छेलाई छाडियो भने बुढेसकालमा श्रीमती, छोराछोरी र नातिनातिनासँग बिताउनुहुन्छ। बुढेसकालमा चाहिने पनि परिवार नै हो।’

सुरुमा बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालले इन्द्रजित राईले रकम लिएको भन्ने कुनै पनि जाहेरीमा उल्लेख नभएको बताए। उनी र उनका छोरालाई रकम दिएको बयान सानु भण्डारी र केशव दुलालले दिएपछि राई तानिएका हुन्। रकम बुझेको प्रमाण समेत फेला परेको अनुसन्धान गर्ने प्रहरीको दाबी छ। 

तर इजलासमा भने ती कुनै पनि प्रमाण नभएको उनका वकिलले दाबी गरे। उनले इन्द्रजितको आम्दानीको श्रोत समेत बताएका थिए। यस्तै बैंकबाट ऋण लिएर घर बनाएको दाबी गर्दै उनले यसका लागि इजलासमा प्रमाण पेस गर्ने बताए। 

सहप्रतिवादी भण्डारी र दुलालको बयान प्रहरीमा गराएकाले त्यो मान्य नहुने बताए। प्रहरीमा गराएको बयानलाई नमानी अदालतमै गराएको बयान सत्य भएको उनको दाबी छ। 

‘गृह मन्त्रालयमा एउटा कुर्सीमा बसेकै आधारमा दोषी भन्न मिल्छ? उहाँले त सल्लाहकारका हैसियतले गृहमन्त्री र गृहसचिवलाई सल्लाह मात्रै दिनु भएको हो। सल्लाहकारलार्ई अभियुक्त बनाउन मिल्दैन,’ ढकालले भने, ‘सरकारले योभन्दा ठूलो चार्ज लगाउने ठाउँ छैन।’

विगतको सल्लाहकारले अब प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले उनलाई छाड्न माग गरे। धरौटी माग गरे पनि तिर्न सक्ने अवस्था नभएको भन्दै उनले भने, ‘यी रोगी बुढामान्छेलाई थुनामा राखेर के हुन्छ? त्यही भएर छाडियोस्।’

अधिवक्ता कुमार अधिकारीले पनि इन्द्रजितलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरे। 

६ प्रतिवादीको तर्फबाट बहस सकियो
बिहीबार इन्द्रजितको पक्षबाट बहस हुनुअघि अन्य अभियुक्तहरु सागर राई र सन्देश शर्माको पक्षका वकिलले बहस गरेका थिए। 

वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले सानु भण्डारी र टंक गुरुङको तर्फबाट सुरु गरे।

त्यसपछि अर्का अभियुक्त सागर राईको तर्फबाट अधिवक्ताहरु प्रकाश पौडेल, विनोद कार्की, सन्तोष भट्ट र इन्द्रप्रसाद पोखरेलले बहस गरेका थिए। 

सन्देश शर्माको तर्फबाट अधिवक्ताहरु यज्ञ खतिवडा, गोपालराज अर्याल, नगेन्द्र चौहान, सुशीला कार्की र मंगल महतोले बहस गरे।

बुधबारदेखि अभियुक्तहरुको पक्षबाट वकिलहरुले बहस सुरु गरेका हुन्। बुधबार १३ जना वकिलले बहस गरेका थिए। 

केशव दुलाल, सानु भण्डारी, टंक गुरु, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको तर्फबाट बहस सकिएको हो।

पूर्वउपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायतको तर्फबाट बहस हुन बाँकी छ। यो मुद्दामा ३० जनालाई प्रतिवादी बनाइएकोमा १८ जना हिरासतमा छन्। 

१८ जनाको तर्फबाट बहसका लागि मंगलबारसम्म समय तोकिएको छ। बुधबार सरकारी वकिलले जवाफी बहस गरेपछि त्यसैदिन थुनछेक आदेश गर्ने न्यायाधीशले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .