नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको निर्वाचन प्रक्रियाका सबै फाइल झिकाउन उच्च अदालत पाटनले आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले पुस २४ मा साधारणसभा निर्वाचनको प्रक्रियामा अपनाइएका सबै फाइल झिकाउन आदेश दिएको हो। निर्वाचन तालिकाविनाको पुस ९ गतेको साधारणसभा रोक्न माग गर्दै नाडा कार्यसमितिका तत्कालीन सदस्य आकाश गोल्छाले पुस ६ गते उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालतले भनेको छ, ‘संस्थाको पुस ९ गतेको साधारण सभा उत्प्रेषणको आदेशले बदर गरी पाउँ भनने समेत निवेदनमा उल्लेख भएको देखिएबाट परिस्थितिमा आधारभूत परिवर्तन भइसकेको सन्दर्भमा पुस २५ गते सम्पन्न गर्ने भनी सो पत्रमा उल्लेख भएका थप कार्यक्रम तत्काल सम्पन्न नगरी यथास्थितिमा राखी पुस ९ गतेमा सुरु भएको साधारण सभा निर्वाचनको प्रक्रियामा अपनाइएका सम्पूर्ण कागजातसहितको फाइल झिकाई लिखित जवाफ परेपछि वा अवधि नाघेपछि उत्प्रेषणको रिटसमेत साथै राखी नियमानुसार पेस गर्नु।’
उच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ। उच्च अदालतले भनेको छ, ‘नाडाको केन्द्रीय कार्यसमितिको निर्विरोध निर्वाचन भइसकेको भन्ने तथ्य उक्त संस्थाको पुस २२ को पत्रबाट पुस २५ गते शुक्रबारमा सम्पन्न हुने कार्यक्रमको विवणबाट देखिँदा निवेदकको पूरक निवेदनबाट माग गरिए बमोजिम निर्वाचन गर्ने कार्य रोकी पाउँ भन्ने सम्बन्धमा अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था देखिएन।’
नाडाको अध्यक्षमा निवर्तमान महासचिव सुरेन्द्र उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका थिए। तर अदालतले थप कार्यक्रम यथास्थितिमा राख्ने निर्णय गरेकाले नाडाको नयाँ नेतृत्व चयन प्रक्रिया अनिश्चित बनेको छ।
Shares

प्रतिक्रिया