समाज


हिमताल फुटेर मुस्ताङमा लेदोसहितको बाढी आएको आशंका

प्रमुख जिल्ला अधिकारी भन्छन्- माथिल्लो क्षेत्रमा कतै हिमताल फुटेको हुनसक्छ
हिमताल फुटेर मुस्ताङमा लेदोसहितको बाढी आएको आशंका

नेपालखबर
असार २५, २०८२ बुधबार ७:५३, काठमाडौँ

मंगलबार दिउँसो मुस्ताङमा हिमताल फुटेर लेदोसहितको बाढी आएको आशंका गरिएको छ। 

स्थानीय चुम्जुङ खोलामा एक्कासी आएको गेग्य्रान र लेदोसहितको बाढीले उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा केही भौतिक संरचनामा क्षति गरेको स्थानीय प्रशासनले जनाएको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले माथिल्लो क्षेत्रमा कतै हिमताल फुटेर बाढी आएको हुनसक्ने बताए। 

‘माथिल्लो क्षेत्रमा हिमताल फुटेको अथवा ठूलो वर्षा भएको हुनसक्छ। अन्यथा अकस्मात यत्रो बाढी नआउनु पर्ने,’ नेपालखबरसँग उनले भने, ‘त्यो ठाउँमा पुग्न समय लाग्छ। के कारणले बाढी आएको  हो, स्थलगत अवलोकनपछि मात्रै यकिनसँग भन्न सकिन्छ। 

उक्त खोलाको बाढीका कारण थप जोखिम ननिम्त्याओस् भनेर सशस्त्र प्रहरीले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। 

बाढी आएको खोलाका तटीय क्षेत्र छुसाङ, कागबेनी, जोमसोमलगायतका ठाउँमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। 

हिमालपारिको जिल्ला मुस्ताङम खासै पानी पर्दैन। तर,पछिल्लो समयको जलवायु परिवर्तनले मनाङ, मुस्ताङमा पनि ठूलो वर्षा हुन थालेको छ।  

मुस्ताङमा पनि बाढीपहिरोको प्रकोप बढ्न थालेको बारगुड मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजिन नाम्गेल गुरुङले बताए। उनले उपल्लो मुस्ताङ क्षेत्रमा बाढी आएपछि तल्लो तटमा बस्ने बासिन्दालाई सचेत हुन आग्रह गरिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad