समाज


मुस्ताङमा भारी हिमपात, किसानलाई राहत

मुस्ताङमा भारी हिमपात, किसानलाई राहत

नेपालखबर
चैत ८, २०८२ आइतबार ६:५७, मुस्ताङ

मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ। यस वर्ष अनुकूल समयमा पटकपटक हिउँ परेकाले यहाँका किसान र पशुपालक व्यवसायीले राहतको महसुस गरेका हुन्।

शुक्रबार राति माथिल्लो मुस्ताङसहित मुक्तिनाथ क्षेत्रलगायतका विभिन्न स्थानमा भारी हिमपात भएको हो । घरपझोङ र थासाङ गाउँपालिकामा भने उच्च लेकमा हिमपात भयो भने, बस्ती क्षेत्रमा वर्षा भएको हो।

शुक्रबार राति परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङ, वारागुङ मुक्तिक्षेत्रसहित घरपझोङ र थासाङ क्षेत्रका उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएका छन् । मुक्तिक्षेत्र र माथिल्लो मुस्ताङमा बस्तीमा हिमपात भएकाले खेतीयोग्य भू–भाग सबै हिउँले ढाकिएका छन्।

घरपझोङ गाउँपालिका– ५ ठिनी गाउँमाथि ठूलो चरन क्षेत्र रहेको उच्च लेक सेताम्मे हिउँले ढाकिएको छ । घरपझोङ– ५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीले हिउँले ठिनी गाउँमाथिको भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक र तिलिचो पदमार्गको मेसोकोन्दो पास पूरै सेताम्मे भएको जानकारी दिए।

पछिल्लो समय जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्च लेकका चरन क्षेत्रमा घाँस अभाव हुने गरेकामा यस वर्षको हिउँले स्थानीय पशुपालक किसानलाई राहत मिलेको च्याङबहादुर थकाली बताउँछन्। हुरीबतासबिनाको हिउँ परेकाले चरन क्षेत्रमा पूरै हिउँले ढाकिँदा पर्याप्त मात्रामा पशुचौपायाका लागि घाँस पलाउने उनको भनाइ छ।

मुस्ताङमा विगत तीन वर्षदेखि निरन्तर अनुकूल समयमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस अभाव हुनाले पशुपालन व्यवसाय नै संकटमा पर्न थालेको उनको भनाइ छ।

जलवायु परिवर्तनका कारण उच्च लेकमा जमिनको तापमान वृद्धि हुँदा हिमनदी र पानीका मुहान सुक्दै जान थालेकाले उच्च लेकमा अनधिकृत घाँस पलाउने गर्दा पशुचौपायालाई असर पुर्‍याउने गरेको किसान थकालीले उल्लेख गरे।

त्यसैगरी, अनुकूल समयमा हिमपात भएकाले चरन क्षेत्रमा पर्याप्त घाँस हुने भएकाले हिउँ चितुवाको आहारा प्रजाति बस्ती नझर्ने भएकाले वन्यजन्तुको जोखिमसमेत कम हुने किसान थकालीको भनाइ छ।

यस्तै, यस वर्षको अनुकूल हिमपातले यहाँका कृषि पेसा अपनाउँदै आइरहेका किसानलाई पनि ठूलो राहत पुर्‍याएको छ । अनुकूल समयमा परेको हिउँ लामो समयसम्म स्थिर रहने भएकाले खेतीयोग्य जमिनको भित्री तहसम्म रिचार्ज भई सिञ्चित हुने भएकाले हिउँदयामको हिउँ किसानका लागि बरदान भएको थकालीले सुनाए।

‘खेतबारीमा उत्पादन हुने रैथाने उवा, जौँ, गहुँ र हरियो तरकारी रोपण गरिएको छ, स्याउको पनि फूल फुल्ने बेला हुँदै छ’, उनले भने, ‘यसपटक लगातार छपटकसम्म परेको हिउँले पूरै जमिनलाई चाहिने आवश्यक तत्त्व प्राप्त भइसकेको छ, स्याउको फूल फुल्ने बेला हिउँ नपरोस्।’

अनुकूल समयमा परेको हिउँले अन्नबाली र फलफूलखेतीमा लाग्ने विभिन्न रोग कीराको सङ्क्रमणलाई न्यूनीकरण गर्ने भएकाले हिउँ अन्नबाली र फलफूल उत्पादनका लागि अर्गानिक विषादी भएकाले यहाँका किसान उत्साहित भएको उनले जनाए।

मुस्ताङमा पर्यटकीययाममा जारी सिजनको छैटौँपटक हिमपात भएकाले मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि उत्साहित भएको पाइएको छ । किसान थकालीले पर्यटकयाममा मुस्ताङमा हिमपात भएकाले हिउँ हेर्न र हिउँ खेल्ने उद्देश्यसहित मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि हुने दाबी गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad