समाज


सिमकोटको तापक्रम माइनस १० डिग्रीमा झर्‍याे, सडकमा ३ फिटसम्म हिउँ

सिमकोटको तापक्रम माइनस १० डिग्रीमा झर्‍याे, सडकमा ३ फिटसम्म हिउँ

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:४३, हुम्ला

हुम्ला सदरमुकाम सिमकोटमा हिमपातले जनजीवन प्रभावित बनेको छ। पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ।  

स्थानीय उपेश भण्डारीका अनुसार दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बग्ने गरेको छ। यस वर्ष हिउँदयाममा पनि हिल्सामा होटल व्यवसायी बस्दै आएका छन् भने सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी पनि हिल्सामै छन्। 

हिल्सामा बिओपी स्थापना भएसँगै केही वर्षअघिदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिँदै आएका छन्।

पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा कम हुने गरेको छ। तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो। 

जिल्लामा यतिबेला बिहान र रातिको समय तापक्रम माइनस १० डिग्रीसम्म पुग्ने गरेको छ। चिसोमा सुरक्षित भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।

हिमपातले लिमी आवतजावत बन्द
गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित लिमी आवतजावत बन्द भएको छ। हिमालपारिको गाउँले चिनिएको लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेको छ।  

लिमीका स्थानीय निमा तामाङले  बाक्लो हिमपातको कारण लिमी आवत जावत बन्द भएको जानकारी दिए।

लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकमा बाक्लो हिमपात भएको छ।  लिमीका स्थानीयसँग सम्पर्क गर्ने माध्यम अहिले फोन मात्रै छ। 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले नारा र न्यालुमा तीन फिट हिउँ जमेको बताए।  

लिमीका तिल, हल्जी र जाङ गाउँ छन् । स्थानीय हिमपातका कारण प्राकृतिक बन्दाबन्दीमा परेका छन्।

सडकमा जमेको हिउँ पन्छाउने कार्य नभए आगामी वैशाख–जेठसम्म लिमी आवत जावतमा समस्या हुने तामाङको भनाई छ। 

हिउँद भर्खर सुरु भएकाले हिउँ पर्ने समय अझै बाँकी छ। यसअघि नै गत कात्तिक अन्तिम साता लिमीको सुनखानीमा रहेको सीमा प्रहरी चौकी सदरमुकाम सरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .