ad ad

समाज


प्रदेश लोकसेवा कर्णालीबाट एक वर्षमा ९८९ कर्मचारी सिफरिस

प्रदेश लोकसेवा कर्णालीबाट एक वर्षमा ९८९ कर्मचारी सिफरिस

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ९:२९, सुर्खेत

प्रदेश लोक सेवा आयोग कर्णालीले एक वर्षको अवधिमा ९८९ जना कर्मचारी सिफारिस गरेको छ। २०७९ साउन १ गतेदेखि २०८० आषाढ ३१ गतेसम्म विभिन्न दरबन्दीमा ९ सय ८९ जना उम्मेदवारलाई सिफारिस गरेको हो। 

कुल दरबन्दीमध्ये ४ सय महिला उम्मेदवार सिफारिस हुँदा ५ सय ८९ जना पुरुष सिफारिस भएका छन्। समावेशी समूहअन्तर्गत १ सय ७० जना महिलातर्फ सिफारिस भएका आयोगले सार्वजनिक गरेको तेस्रो वार्षिक प्रतिवेदन २०८९–०८० मा उल्लेख छ।

कर्णाली प्रदेश सरकार अन्तर्गतका सेवा सञ्चालन गर्ने मन्त्रालयहरू तथा स्थानीय तहहरूबाट सहायकस्तर चौथो र पाँचौँ तहका रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग भएको थियो। उक्त मागअनुसार आयोगले आर्थिक वर्ष २०७९–०८० को वार्षिक कार्यतालिका प्रकाशन गरी १ सय ७६ विज्ञापनमार्फत कुल ९ सय ७१ पदमा दरखास्त आह्वान गरेको थियो। 

आयोगबाट प्रकाशित विज्ञापनहरूमध्ये ६३ वटा खुला र १ सय १३ वटा समावेशी समूहका विज्ञापन गरी जम्मा १ सय ७६ वटा विज्ञापन नम्बरहरू कायम भएका थिए। उक्त विज्ञापनहरूबाट खुलातर्फ ६ सय ५२ पद र महिला, आदिवासी–जनजाति, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्र गरी समावेशी समूहतर्फ ३ सय १९ पद गरी जम्मा ९ सय ७१ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको थियो।

सात प्रकारको विज्ञापन, ७४ हजार बढी दरखास्त
यस्तै, आयोगले विभिन्न तहमा सात प्रकारका विज्ञापन गर्दै आएको छ। जसमा खुला, महिला, आदिवासी जनजाती, मधेसी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्र रहेका छन्। 

आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्ममा ७४ हजार तीन सय ३० जना उम्मेदवारले दरखास्त पेश गरेका छन्। पेश भएका दरखास्त मध्ये सबै भन्दा बढी चौथो तहमा ३५ हजार ८४४ जना र जसमा महिलाको संख्या २९ हजार ७७ रहेको आयोगले जनाएको छ। 

यस्तै, पाँचौ तहमा २४ हजार ६४४, सातौँ तहमा १२ हजार ८७८ र आठौँ तहमा ९६४ जना उम्मेदवारले रोजगारीका लागि दरखास्त दिएका थिए। 

७७ वटै जिल्लाबाट आवेदन दिनेहरूमा सबै भन्दाबढी सुर्खेत जिल्लाका ७ हजार ८३ र सबै भन्दा कम मनाङ जिल्लाबाट १ जना उम्मेदवार रहेका छन्। 

१८ देखि २५ वर्ष उमेर समूहका बढी सिफारिस

प्रदेश लोकसेवा आयोग कर्णालीबाट सिफारिस हुने उम्मेदवारहरु मध्ये सबै भन्दा बढी १८ देखि २५ वर्ष उमेरका धेरै रेहका छन्। विभिन्न पदमा सिरफारिस भएका जम्मा ९८९ जना मध्ये यो समूहका ६१७ जना रहेका छन्।

यस्तै, २६ देखि ३० वर्ष उमेर समूहका २७७ जना, ३१ देखि ३५ वर्ष उमेर समूहका ८० र ३६ देखि ४० वर्ष उमेर समूहका १५ जना उम्मेदवार रहेका छन्।

३४ नयाँ पाठ्यक्रम निर्माण

आयोगले आर्थिक वर्ष २०७९/०८० को यस अवधिमा ३४ वटा पाठ्यक्रम निर्माण गरेको छ । जसमा स्वास्थ्य सेवातर्फ आठौँ तहको ३, सातौँ तहको प्रशासन सेवातर्फ १, आर्थिक योजना तथ्याङ्क सेवातर्फ १, वन सेवातर्फ १ वटा पाठ्यक्रम रहेका छन्।

यस्तै, कृषि सेवातर्फ ३, विविध सेवातर्फ ४, स्वास्थ्य सेवातर्फ ५, इन्जिनियरिङ सेवातर्फ ४, शिक्षा सेवातर्फ ६, इन्जिनियरिङ सेवातर्फ छैटौँ तहका २ छन्। शिक्षा सेवातर्फ १ वटा, इन्जिनियरिङ सेवातर्फ पाँचौँ तहको २ र शिक्षा सेवातर्फ चौथो तहको १ नयाँ पाठ्यक्रम निर्माण गरिएको आयोगले जनाएको छ।

८३ जना उम्मेदवारलाई कारबाही

आयोगबाट सञ्चालित परीक्षामा गैरकानुनी काम गर्ने दुई जना उम्मेदवारहरूलाई २ वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।
अन्य ८१ जना परीक्षार्थीको सम्बन्धित परीक्षा रद्द हुने गरी आयोगले कारबाही गरेको छ। 

उत्तरपुस्तिकाको भित्री पृष्ठमा असान्दर्भिक विषयवस्तु उल्लेख गर्ने २९ महिला र ५४ पुरुष गरी ८३ जनाको परीक्षा रद्द भएको आयोगको तेस्रो वार्षिक प्रतिवेदनमा उल्लेख छ।

५ करोड ८२ लाखबढी राजस्व संकलन  

यस अवधिमा आयोगले ५ करोड ८२ लाख २५ हजार ३ सय ५० रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। आयोगको कार्यालयमा जम्मा ३ लाख ८९ हजार ९ सय ४१ धरौटी मौज्दात छ। कुल ६२ वटा विज्ञापनबाट ९ सय ७१ पदका लागि दरखास्त आह्वान गरेकोे छ। 

प्रकाशित विज्ञापनमा कुल ७४ हजार ३ सय ३० जना आवेदकबाट अनलाइन दरखास्त पेस भई यसबाट उक्त परिमाणको राजस्व संकलन भएको आयोगले जनाएको छ।

सङ्कलित कुल राजस्वमध्ये ९९ दशमलव ४३ प्रतिशत परीक्षा शुल्कबापतको राजस्व रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .