उद्योग संगठन मोरङले विगत केही दिनदेखि अनुसन्धानका नाममा उद्योगी व्यवसायीहरूलाई पक्राउ गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनले प्रेस विज्ञप्ति जारी गर्दै दोषी कोही उम्कन नहुने तर निर्दोषमाथि अन्याय हुन नहुने जनाएको छ।
संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले जारी गरेको विज्ञप्तिमा फौजदारी र वित्तीय अभियोगलाई समान प्रकृतिको ठान्न नहुने उल्लेख छ।
‘वित्तीय अभियोगको सन्दर्भमा पहिले कुरा सुन्ने र अनुसन्धानबाट गलत प्रमाणित भएमा मात्र थुन्ने नीति अवलम्बन गर्नुपर्छ,’ उनले भने।
आर्थिक समृद्धि र राष्ट्रिय अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकालाई अपरिहार्य ठानेको वर्तमान सरकारले सुन्ने काम भन्दा पहिला नै थुन्ने नीति अपनाउँदा बजारमा अन्यौल र भयको वातावरण सिर्जना भएको संगठनको ठहर छ।
सरकारले दोष प्रमाणित नभई वित्तीय कसुरको आरोपमा उद्योगी व्यवसायीहरूलाई अनावश्यक रूपमा दुःख नदिने भनी यसअघि गरेको प्रतिबद्धतालाई समेत संगठनले स्मरण गराएको छ।
‘राज्यका नीति तथा कानुनको परिधिभित्र रही व्यवसाय सञ्चालन गरिरहेकाहरूलाई अनुसन्धान प्रक्रियामा समावेश गर्दा पहिले कुरा सुन्ने अनि मात्र दोषी देखिए कारबाही गर्ने विधिसम्मत र न्यायसंगत सिद्धान्तको पूर्ण पालना हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।
वित्तीय प्रकृतिको अभियोगलाई थुना बाहिर राखेर अनुसन्धान गर्ने विधि अवलम्बन गर्न पनि संगठनले सरकारसँग माग गरेको छ।
समग्र निजी क्षेत्रलाई भयरहित वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्ने परिस्थिति तयार गर्नुपर्ने भन्दै विज्ञप्तिमा व्यवसायीको मानमर्दन हुने गरी भइरहेका धरपकड तत्काल रोक्न आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया