पाल्पामा स्क्रब टाइफस संक्रमणको कारण ११ वर्षीया बालिकाको मृत्यु भएको छ।
रैनादेवी छहरा-१ की ११ वर्षकी बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार मृत्यु भएकी बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि छ।
रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।
अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए।
गम्भीर बिरामी देखिएपछि बालिकालाई थप उपचारका लागि तानसेनस्थित मिसन अस्पताल रेफर गयरिएको रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिए।
अभिभावकका अनुसार ती बालिकालाई दुई महिना अघिदेखि नै ज्वरो आउने लगायतका समस्या देखिए को थियो। ज्वरो आउने, खोकी लाग्ने, जीउ गल्नेजस्ता जस्ता समस्या बढ्दै गएपछि उनलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। पछिल्लो पटक स्वास्थ्य जाँच गर्दा बालिकामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईले बताए।
स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित भएको एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्ने प्राण घातक राग हो।
स्क्रब टाइफस सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिने चिकित्कले बताएका छन्।
यसको उपचार नगरे मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीँ बहुअङ्ग समस्या सिर्जना सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन्।
यो वर्ष पाल्पामा मात्रै दुईसय ३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ।
Shares

प्रतिक्रिया