गत माघ २९ गते महोत्तरीको बर्दिबास निवासी बिरु बलम्पाकी ‘जीवनस्पर्शी’की आमा राजकुमारी बलम्पाकीको ८० वर्षको उमेरमा निधन भयो। दम र मुटुको समस्याले पीडित राजकुमारीलाई उपचार गर्दा पनि आफन्तले बचाउन सकेनन्।
मृत्युपछि माघ १ गते बर्दिबासनजिकैको रातु खोलास्थित घाटमा राजकुमारीको पार्थिव शरीर अन्त्येष्टि गरियो। पुरेतले दुई छोरा (सोम र बिरु) लाई घाटमै कपाल खौरिन आग्रह गरे। पुरेतले भनेअनुसार दाजुले खोलामै कपाल खौरिए। लगाइरहेका कपडा फालेर सेता कपडा पहिरिए। जसोजसो पुरेतले भने, उनले त्यसैत्यसै गरे। कोरामा बसे, छोइछिटो बारे।
तर, राजकुमारीका कान्छा छोरा बिरु, जो महोत्तरीकै गौशाला नगरपालिकाका शिक्षा शाखाका प्रमुख (अधिकृत) छन्, उनले भने हिन्दू धर्ममा आधारित मृत्यु संस्कारका कुनै पनि विधि अवलम्बन गर्न चाहेनन्।
दाजु कोरामा बसे, ढिकुरो उठाए, फुटाए। आमाको नाममा दिनहुँ पिण्डपानी दान गरे। घरमा गरुढ पुराण लगाए। पुरेतले भनेअनुसार परम्परागत मृत्यु संस्कारका सबै विधि पूरा गरे।
भाइले भने परम्परागत हिन्दू संस्कारअुनसार आमाको काजक्रिया गर्न अस्वीकार गरे। समाजका कतिपयलाई उनको यो तरिका मन परेन। बिरुले पितापुर्खाको पालादेखिको धर्म-संस्कार नमानेको, समाज भाँडेको भन्दै उनीहरुले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा उनको आलोचनासमेत गरे।
त्यसपछि उनले आफूलाई अवैज्ञानिक, अनावश्यक बोझिला र रुढिवाद लागेको मृत्यु संस्कारका विषयमा समाजमा बहस सिर्जना होस् भन्ने चाहे।
मंगलबार दाजुको घरमा आमाको काजक्रियाको अन्तिम विधि चल्दै थियो। पुरेतले भनेको विधिअनुसार मलामी गएकाहरु चोख्याउने काम हुँदै थियो। शय्यादान, गाईदान, धनदौलत दान हुँदै थियो।
बिरुको घरमा भने जनसांस्कृतिक महासंघ महोत्तरीले राजकुमारीको स्मृतिमा श्रद्धाञ्जली सभा राख्यो। बिरु आफैँ जनसांस्कृतिक महासंघ र प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य हुन्।
श्रद्धाञ्जली सभामा पूर्वशिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल, राष्ट्रियसभाकी पूर्वउपाध्यक्ष शशिकला दाहाल, कुरीतिविरुद्धको अन्तर्राष्ट्रिय अभियान, सोच नेपालका सल्लाहकार तथा लेखक रामदेव पाण्डे, माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्का, सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीलगायतलाई वक्ताका रुपमा निम्त्याइएको थियो।
झण्डै सय जनाको उपस्थितिमा भएको आमाको स्मरण सभामा बिरुले आफूले आमाको मृत्यु संस्कारलाई परम्परागत रुपमा गर्न अस्वीकार गर्नाको कारण प्रस्ट्याउने प्रयास गरे। समाजलाई धर्म, संस्कार, त्यसभित्रका कुरीति र कुसंस्कार बुझाउने प्रयत्न गरे।
‘हामी दाजुभाइ पहिल्यैदेखि भिन्न थियौँ। आमा मैसँग बस्नुभएको थियो। जीवित रहुन्जेल मैले सकेको जति उहाँको सेवा गरेँ। बिरामी भएपछि बचाउन सकिन्छ कि भनेर पनि निकै प्रयास गरियो’, उनले भने, ‘तर मृत्युपछिका परम्परागत संस्कारमा भने मलाई विश्वास नभएर नगरेको हो।’
आफूले आमाको काजक्रिया परम्परागत ढंगले नगर्दा कतिपयले ‘बिरु अन्य धर्मबाट प्रभावित भयो, हिन्दू धर्म मानेन। उसले धर्म परिवर्तन गर्यो’ भनेरसमेत आलोचना भएको भन्दै उनले आफूले त्यसो नगरेको प्रस्टीकरण दिए।
‘परम्परागत मृत्यु संस्कार अवैज्ञानिक, रुढिवादमा आधारित र अनावश्यक झन्झटिलो भएकाले मैले नगरेको हो’, उनले भने, ‘मैले कुनै धर्म अवलम्बन गरेको पनि छैन। धर्म परिवर्तन गरेको पनि होइन। हामी केही जानेबुझेकाले यस्ता कुसंस्कारलाई अवलम्बन गर्नु हुँदैन भन्ने लाग्यो। मेरो अध्ययनको निष्कर्ष- जीवन जिउने क्रममा सिकेका ज्ञानले पनि त्यही भन्यो। त्यसैले मैले परम्परागत मृत्यु संस्कार गरिनँ।’
कार्यक्रममा प्रमुख वक्ता पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजनीतिक परिवर्तन भन्दा सांस्कृतिक रुपान्तरणको आन्दोलन कठिन विषय भएको बताए।
‘नेपालमा कम्युनिस्ट पार्टीहरु ठूला र बलिया हुँदै गए, तर सांस्कृतिक आन्दोलन भने निकै कमजोर बन्दै गएको छ’, उनले भने, ‘पुराना, अवैज्ञानिक सोच र कुरीतिहरुलाई साथमा लिएर समृद्धिको यात्रामा अघि बढ्न सकिँदैन। बिरुजीले सचेततापूर्वक जसरी परम्परागत मृत्यु-संस्कार गर्न अस्वीकार गर्नुभयो, त्यो अनुकरणीय छ।’
उनले अवैज्ञानिक र कुरीतिमा आधारित संस्कार बदल्न व्यक्ति आफैँले पनि साहस गर्नुपर्ने बताए।
‘विगतदेखि चल्दै आएका कुसंस्कारहरु बदल्न पहिला सही दृष्टिकोण जरुरी छ। दोस्रो, यसलाई अभियानका रुपमा पनि अघि बढाउनुपर्छ’, पोखरेलले भने, ‘त्यो भन्दा अझ महत्त्वपूर्ण कुरा भनेको समाज परिवर्तनको आन्दोलनमा लागेका अगुवाहरुले यस्ता कुरीति र कुसंस्कार बदल्न आफैँले पनि व्यक्तिगत साहस गर्नुपर्छ।’
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा महोत्तरी जिल्ला इन्चार्ज राजु खड्काले आफूले बुवा र आमाको मृत्यु हुँदा परम्परागत ढंगले काजक्रिया नगर्दा झेल्नुपरेका अप्ठ्यारा र घेराबन्दीको चर्चा गरे।
‘०५७ सालमा बुवाको मृत्यु हुँदा मैले पनि परम्परागत रुपमा काजकिरिया गर्न अस्वीकार गरेको थिएँ’, विगत सम्झिँदै खड्काले भने, ‘त्यतिबेला आफन्त र समाजले सिर्जना गरेको घेराबन्दी तोड्न मलाई निकै गाह्रो परेको थियो।’
उनले परम्परागत मृत्यु-संस्कारमा भएका कुरीतिलाई तोड्न खोज्दा समाजमा व्यक्तिको हैसियतअनुसारको घेराबन्दी हुने गरेको तर्क गरे।
‘बीपी कोइरालाले त्यतिबेलै आमाबुवाको काजकिरिया गरेनन्। प्रचण्ड र माधव नेपालहरुले पनि आफ्ना आमाबुवाको काजकिरिया गरेनन्’, खड्काले भने, ‘तर उनीहरुलाई आफ्ना आमाबुवाको काजकिरिया नगरेको भनेर समाजले घेराबन्दी गर्न सकेन। त्यसलाई सामान्य रुपमै पचायो। तर, यहाँ सामान्य मान्छेमाथि समाजले यस्तो बेला बढी घेराबन्दी गर्छ। त्यो विगतमा मैले नै बेहोरेको छु।’
बुवाको मृत्यु हुँदा आफू पार्टीको सामान्य कार्यकर्ता मात्रै भएकाले घेराबन्दी धेरै भएको स्मरण उनले गरे।
‘त्यतिबेला आँगनबाट बुवाको शव उठाउँदादेखि नै ममाथि आक्रमण सुरु भयो। लास बोकेर घाट जाँदै गर्दा किन चप्पल लगाएको, चप्पल खोलेर खाली खुट्टा हिँड् भनेर दबाब दिइयो। घाटमा पुगेपछि किन कपाल नखौरेको भनेर घेराबन्दी गरियो’, खड्काले भने, ‘बुवाको मृत्यु हुँदा घाटमा कपाल खौरिन जति दबाब दिए पनि मैले मानिनँ। त्यतिबेला विवाद यति धेरै भयो कि त्यो तनावका कारण मैले बुवाको लास जलेर खरानी भइसकेकोसमेत थाहा पाइनछु।’
तर, केही वर्षअघि आमाको मृत्यु हुँदा भने आफूलाई बुवाको पालामा जस्तो समाजले घेराबन्दी नगरेको स्मरण उनले गरे। ‘त्यतिबेला म माओवादीको केन्द्रीय सदस्य भइसकेको थिएँ’, उनले भने, ‘त्यही भएर समाजले बुवाको पालामा जस्तो आमाको पालामा ममाथि घेराबन्दी गर्ने साहस गरेन।’
माओवादी केन्द्रको बागमती प्रदेश समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्रीले आफूले पनि बुवाको मृत्युमा परम्परागत ढंगले काजक्रिया नगर्दा समाजको घेराबन्दी सामना गर्नुपरेको स्मरण गरे।
माओवादी जनयुद्धले कुरीतिविरुद्ध मान्छेलाई जागरुक बनाउने काम गरे पनि वैकल्पिक र वैज्ञानिक संस्कारको विकासमा ध्यान दिन नसक्दा आम जनता धर्म-संस्कारको मामलामा पुरानै ठाउँमा उभिएको उनले बताए।
‘कम्युनिस्ट कार्यकर्ताले अब भौतिकवाद र अध्यात्मवाद, धर्म, संस्कृति र परम्परा, स्वर्ग र नर्कको विषयमा आम जनतालाई बुझाउने प्रयास गर्नुपर्छ’, उनले भने, ‘बिरुजीले परम्परागत मृत्यु-संस्कार नगरेर त्यो बहसको सिर्जना गर्नुभएको छ। यो अनुकरणीय पक्ष हो।’
अखिल नेपाल प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका कुरीतिविरुद्धको अन्तर्राष्ट्रिय अभियानका सल्लाहकार रामदेव पाण्डेले रुढिवादमा आधारित मृत्यु-संस्कारलाई विस्थापित गर्न वैज्ञानिक र जीवनउपयोगी संस्कारलाई पाठ्यक्रमको रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले कम्युनिस्ट पार्टीका ठूला नेताहरुले नै कुसंस्कारलाई मलजल गरिरहेको बताए। ‘पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता र मन्त्रीहरु नै यज्ञ र महायज्ञ उद्घाटन गर्छन्, अनि कसरी वैज्ञानिक र जीवनउपयोगी संस्कारको विकास हुन्छ’, उनले प्रश्न गरे।
हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता भोटको राजनीतिमा लाग्दा पनि नेपाली समाजमा विद्यमान कुसंस्कारहरु हट्न नसकेको बताए।
‘मैले जनै लगाइनँ, छोराछोरीको न्वारन, व्रतबन्ध गरिनँ, बुवाआमाको काजक्रिया र श्राद्ध गरिनँ भने जनताले भोट दिँदैनन् कि, चुनाव जितिँदैन कि भन्ने डर कम्युनिस्ट पार्टीका नेताहरुलाई नै छ’, उनले भने, ‘विगतदेखि चल्दै आएको नाममा हामीले नै गलत संस्कार र परम्परा अवलम्बन गर्दै गयौँ भने समाजमा कहिल्यै वैज्ञानिक र जीवनोपयोगी संस्कारको विकास हुन सक्दैन। सबैभन्दा पहिला गलत संस्कार छाड्ने हिम्मत कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले गर्नुपर्छ।’
कार्यक्रममा बिरु बलंम्पाकीले आमाको स्मृतिमा हरेक वर्ष माघ २९ गते लेखक तथा सांस्कृतिककर्मीलाई प्रदान गर्नेगरी राजकुमारी स्मृति पुरस्कार स्थापना गर्ने घोषणा गरे। पुरस्कारको राशि भने छलफलपछि तय गरिने उनले बताए।
प्रतिक्रिया