ad ad

समाज


सर्लाहीमा मजदुर चढेको ट्याक्टर बागमती नहरमा खस्यो, २ जनाको मृत्यु, ७ घाइते

सर्लाहीमा मजदुर चढेको ट्याक्टर बागमती नहरमा खस्यो, २ जनाको मृत्यु, ७ घाइते

नेपालखबर
फागुन ९, २०८० बुधबार २०:२८, सर्लाही

सर्लाहीको बरहथवामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ७ जना घाइते भएका छन्।

रौतहटको सीमा नजिकै पर्ने बरहथवा नगरपालिका- १५ पिप्राभित्तामा नम्बर नखुलेको ट्याक्टर बुधबार दिउँसो सडकबाट झण्डै ३० फिट तल बागमती नदीको नहरमा खस्दा ट्याक्टरधनीसहित दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। 

दुर्घटनामा बाराको गढिमाई नगरपालिका- ९ का ५५ वर्षीय जयलाल सहनी र गढिमाईकै ५० वर्षीय रामनाथ सहनीको मृत्यु भएको डीएसपी पञ्जियारले बताए। जयलाल सहनी ट्याक्टर धनी हुन्। ट्याक्टर पनि उनैले चलाएको बेला दुर्घटनामा परेको हो। 

दुर्घटनामा बारा गढिमाईकै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी सहनी, ४५ वर्षीया सुखली देवी, १८ वर्षीय नितेश सहनी, १६ वर्षीया किशोरी अञ्चलाकुमारी र ६७ वर्षीय वृद्ध रामप्रसाद सहनी घाइते भएका छन्। 

‘घाइतेमध्ये बालक आकाश सहनी र किसन सहनीको अवस्था गम्भीर छ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘गम्भीर घाइतेलाई रौतहटको गरुढामा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज लगिएको छ। बाँकी घाइतेको रौतहटकै गौर र गरुढामा उपचार भइरहेको छ।’

बाराबाट आलु खन्न सर्लाही आएका मजदुर सवार ट्याक्टर दुर्घटनामा परेको हो। मृतक र घाइते सबै एकै गाउँका भएको प्रहरीले जनाएको छ।

नम्बर प्लेट पुरानो भएकाले दुर्घटनामा परेको ट्याक्टरको नम्बर पनि खुल्न नसकेको डीएसपी पञ्जियारले बताए। ‘घटनाको सम्बन्धमा हामी थप अनुसन्धान गरिरहेका छौँ,’ उनले भने।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .