समाज


विवाह गर्ने भन्दै २३ वर्षीया युवतीलाई जंगलमा लगेर हत्या

प्रेमिकाको हत्यापछि फरार रहेका युवक अढाई महिनापछि पक्राउ
विवाह गर्ने भन्दै २३ वर्षीया युवतीलाई जंगलमा लगेर हत्या

नेपालखबर
पुस २, २०८१ मंगलबार २०:३०, काठमाडौँ

महोत्तरीको बर्दिबास जंगलमा गएको असोज २३ गते मृत अवस्थामा फेला परेकी युवतीको हत्या उनकै प्रेमीबाट भएको प्रहरी अनुसन्धानले देखाएको छ। 

युवतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सर्लाहीका एक युवकलाई पक्राउ गरेको छ। 

युवती हत्याको आरोपमा सोमबार पर्साको वीरगन्जबाट पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज (मंगलबार) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। 

बर्दिबास नगरपालिका- ५ टुटेश्वर मन्दिर नजिकै जंगलको एकान्त ठाउँमा असोज २३ गते एक युवतीको शव फेला परेको थियो। कालो भेस्ट र निलो जिन्स पाइन्ट लगाएकी ती युवतीको त्यतिबेला सनाखतसमेत हुन सकेको थिएन। 

लामो अनुसन्धानपछि उक्त शव महोत्तरीकै महोत्तरी गाउँपालिका- ४ निवासी २३ वर्षीया अनु रायको भएको खुलेको थियो। शवको पहिचान खुलेपछि घटना अनुसन्धानले गति लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारीसमेत रहेका डीएसपी सन्तुला जयसवालले जानकारी दिए। 

‘लामो अनुसन्धानपछि हामीले युवतीको हत्यामा संलग्न युवकलाई पनि पक्राउ गरेका छौँ,’ डीएसपी जयसवालले भने, ‘उनलाई आज जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरेर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाएका छौँ।’

प्रहरीका अनुसार अनु सर्लाहीको चक्रघट्टा गााउँपालिका- ९ खोरिया निवासी मन्दिप कुमार रायसँग लामोसमयदेखि प्रेम सम्बन्धमा थिइन्। 

पुरानै चिनजानका आधारमा नजिकिएका उनीहरुबीच गएको असोज २२ गते टुटेश्वर चोकमा भेटभयो। त्यसपछि विवाहको लागि भनेर उनीहरु टुटेश्वर मन्दिरमा पुगे। 

मन्दिरमा पुगेपछि भने उनीहरुबीच विवाह गर्ने विषयमा असमझदारी सिर्जना भएको प्रहरी अनुसन्धानले देखाएको छ।

त्यसपछि उनीहरु विवाह नगरी मन्दिरबाट आ-आफ्नै घर जाने भनेर फर्किएका थिए। तर, फर्किने क्रममा पूर्वपश्चिम राजमार्गबाट झण्डै दुई किमी उत्तरको एकान्त जंगलमा पुगेपछि मन्दिपले अनुको घाँटी डोरीले कसेर हत्या गरेका प्रहरीले जनाएको छ।

अनुको हत्यापछि शव नजिकैको नालामा फ्याँकेर मन्दिप फरार भएका थिए। 

आफूहरुबीच प्रेम सम्बन्ध रहेको तर, विवाहको विषयमा असमझरी हुँदा आफूले अनुको हत्या गरेको मन्दिपले पनि स्वीकार गरेका डीएसपी जयसवालले बताए। 

जंगलमा युवतीको शव फेला परेपछि प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान अघि बढाएको थियो। सुराकीको आधारमा मन्दिपलाई पुस १ गते वीरगन्ज महानगरपालिका- ४ आदर्शनगरबाट पक्राउ गरिएको डीएसपी जयसवालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad