समाज


रौतहटमा मान्छे मारेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ

हिन्दुबाट मुस्लिम बनेर नामसमेत परिवर्तन गरेको खुलासा
रौतहटमा मान्छे मारेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ

नेपालखबर
पुस २९, २०८१ सोमबार १२:५५, काठमाडौँ

सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका- ९ (हालको ठेगाना राजदेवी नगरपालिका-९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन्। 

जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठकाअनुसार व्यक्ति हत्यापछि धर्म र नामसमेत परिवर्तन गरेर सिंह सर्लाहीमा लुकिछिपी बस्दै आएका थिए।  

‘कर्तब्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका सिंहलाई हामीले सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुरबाट यही पुस २६ गते पक्राउ गरेका हौँ,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि आइतबार रौतहट जिल्ला अदालतमा बुझाइएका छौँ।’

रौतहटमा व्यक्ति हत्यापछि फरार रहेका उनी सर्लाहीको चक्रघट्टमा घरबारसहित बस्दै आएकाे खुलेकाे छ। यसबीचमा उनले कानुनी कारबाहीबाट जोगिन धर्म र आफ्नो नामसमेत परिवर्तन गरेको पाइएको छ। 

‘उनी चक्रघट्टमा धर्म र नामसमेत परिवर्तन गरेर लुकिछिपी बस्दै आएको सूचनापछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो,’ डीएसपी श्रेष्ठले भने। 

१६ वर्षको उमेरमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनले अहिले आफूलाई महमद सेराजको रुपमा चिनाउँदै आएका थिए। ‘यही नामबाट उनले नागरिकता पनि बनाएका रहेछन्।  मतदाता परिचय पत्रमा पनि यही नाम लेखिएकाे छ,’ डीएसपी श्रेष्ठले भने, ‘रौतहटमा व्यक्ति हत्यापछि सर्लाही बस्दै आएका उनले यसबीचमा दुईवटा विवाह गरेको पाइएको छ।’ 

उनकी पहिली पत्नी सलिना खातुनबाट ६ सन्तानकाे जन्म भएकाे प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। ‘उनकी पहिली पत्नी र तिनका सन्तान हाल काठमाडौँतिर बस्दै आएका स्थानीयले बताएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘पहिली पत्नीसँग मनमुटाव भएपछि उनले गाउँकै सफिना खातुनसँग दोस्रो विवाह गरेछन्। उनीबाट पनि चार सन्तान भइसकेको छ।’

सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad