समाज


मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’

मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’

फाइल तस्बिर


नेपालखबर
कात्तिक ८, २०८२ शनिबार ७:११, जनकपुरधाम

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई यतिबेला सिँगार्ने काम भइरहेको छ। 

जनकपुरमा रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको हो।

गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतका वर्ष जस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिएको जानकारी दिए। उनले घाटको सरसफाइ, सजावटदेखि घाटमा विगतभन्दा पनि राम्रो व्यवस्था गरिएको दाबी गरे।

यो वर्ष छठ पूजाको लागि प्रतिअघ्र्य ६ सय शुल्क निर्धारण गरिएको उनले बताए। ‘यस्तो शुल्क सबैले दिँदैनन्। नदिनेले पनि यहाँ अघ्र्य राख्न पाउँछन्, उनले भने,  प्रत्येक वर्ष रु ३००/३५० पुर्जा काट्ने गरिएको छ। श्रद्धालु भक्तजनहरूबाट आएको रुपैयाँले यसको व्यवस्थापनमा लाग्ने खर्च निस्किहाल्छ।’

गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा पुगेको छ भने झिलीमिली बत्तीको काम बाँकी छ। गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गरिरहेका छन्।

यस्तै, अरगजासरमा छठ घाट निर्माण गरिरहेका समितिका सचिव वीरेन्द्र कर्णले दसैँ सकिएपछि आफूहरू तयारीमा जुटिसकेको बताए। उनले सजावट तथा सफाइका लागि अहिले काम भइरहेको जानकारी दिए। 

यो पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका मानिसले पनि छठ पूजा गर्ने गरेका छन्। 

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ। अरगजासर पोखरीमा पाँच हजारभन्दा बढी अघ्र्य रहने छन्। मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्ण रूपले घरेलु उत्पादनमा निर्भर छन्। आफ्नै खेतबारीमा उत्पादन भएको गहुँ, चामललगायतको पिठोबाट छठको सामग्री बनाउने गरिन्छ। 

त्यस्तै, छठ पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेको बजारमा अहिले भीड लागेको छ । जनकपुरधामका बजारहरूमा बाँसबाट र माटोबाट बनेका सामग्रीहरू जताततै बिक्री भइरहेका छन्। 

छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन्।

चारदिनसम्म मनाइने छठपर्व शनिबारदेखि भने औपचारिक रूपमा सुरु हुँदैछ। चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानी भोकै बस्नुपर्दछ। यस पर्वअन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ। दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ। 

यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गर्ने प्रचलन छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad