समाज


दार्चुलामा प्रधानाध्यापकको मृत्यु, आत्महत्या दुरुत्साहन आरोपमा आठ जना पक्राउ

दार्चुलामा प्रधानाध्यापकको मृत्यु, आत्महत्या दुरुत्साहन आरोपमा आठ जना पक्राउ

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १७:४१, कञ्चनपुर

दार्चुलामा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रधानाध्यापक बलदेव सिंह धामीको घटनामा अनुसन्धानका लागि आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाले धामीले ‘सुसाइड नोट’ मा नाम किटान गरेकाहरूलाई मंगलबार पक्राउ गरेको हो।

दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ घर भएर हाल व्याँस गाउँपालिका-४, सुन्सेरास्थित सम्पाल माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक धामी सोमबार झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।

त्यसअघि उनले सार्वजनिक गरेको नोटमा मानसिक तनाव दिएको, अनावश्यकरूपमा चरित्र हत्या गरेको, धम्की तथा असह्य दबाब दिएको भन्दै शिक्षकसहित आठ जनाको नाम लेखेका थिए।

सोहीलाई आधार बनाउँदै आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–१ का ३२ वर्षीय बिक्रमसिंह कुँवर, महाकाली–२ का ५२ वर्षीय दलिदत्त भट्ट, महाकाली–५ का ४२ वर्षीय खिमानन्द भट्ट, व्याँस गाउँपालिका–४ का ५७ वर्षीय प्रमानन्द भट्ट, सोही ठाउँकै ३९ वर्षीय पदमराज भट्ट, ४३ वर्षीय नरेन्द्र दत्त भट्ट, ५९ वर्षीय हरिदत्त भट्ट र बैतडीको पाटन नगरपालिका-४ का पुष्करराज भट्ट छन्।

यीमध्ये प्रमानन्द भट्ट दार्चुलाकै एक विद्यालयका प्रधानाध्यपाक हुन् भने दलिदत्त, पदमराज, हरि, पुष्करराज सम्माल माध्यमिक विद्यालयका शिक्षक हुन। यस्तै पक्राउ पर्ने नरेन्द्र भट्ट नेपाली कांग्रेस व्याँसका पार्टी सभापति र खेमराज भट्ट ठेकेदार हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धानका लागि दार्चुला जिल्ला अदालतबाट १० दिनको हिरासत अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शिक्षक सम्बद्ध संघ संगठनहरूले घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने माग गरेका छन्। प्रधानाध्यापक संघ नेपाल दार्चुलाले सुसाइड नोटमा उल्लेखित व्यक्तिहरूमाथि तत्काल अनुसन्धानका साथै धामीले शिक्षा क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको सम्मान गर्दै सहिद घोषणा गनु पर्ने मागसमेत अघि सारेको छ।

शिक्षा क्षेत्रमा कार्यरत शिक्षक तथा प्रधानाध्यापकलाई मानसिक दबाब, राजनीतिक हस्तक्षेप र दुर्व्यवहारबाट सुरक्षित वातावरण सिर्जना गर्न पनि अपिल गरिएको छ।

प्रधानाध्यापक संघले ६ बुँदे माग राखेर मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ। बुधबार जिल्लाका ९ वटै स्थानीय तहमा सम्पूर्ण शैक्षिक गतिविधि बन्द गरी पेनडाउन कार्यक्रम गरिने समेत संघको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad