खेल


अर्जेन्टिनालाई उपाधि दिलाएसँगै मेस्सी अहिलेसम्मकै महान् खेलाडी बनेका हुन्?

अर्जेन्टिनालाई उपाधि दिलाएसँगै मेस्सी अहिलेसम्मकै महान् खेलाडी बनेका हुन्?

यज्ञराज जोशी
असार २७, २०७८ आइतबार १८:१९,

बार्सिलोनालाई लियोनल मेस्सीले केसम्म दिएनन्। २००५ यता क्लबमा आबद्ध भएयता ३५ वटा त उपाधि नै जिते। एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीमा गिनिज बुकमा उनको नाम लेखिएकाे छ। त्यही भएर उनका समर्थक उनलाई  जी.ओ.ए.टी. अर्थात् ग्रेटेस्ट अफ अल टाइम (सार्वकालिक महान्) पनि भन्छन्। 

तर, वर्तमान विश्वका स्टार फुटबलर मेस्सीले अर्जेन्टिनाका लागि दुई दिनसम्म औपचारिक प्रतियोगितामा ट्रफी उचाल्नसकेका थिएनन्। मेस्सीले राष्ट्रिय टोलीबाट १५ वर्ष खेले पनि एक औपचारिक उपाधि जित्नसकेका थिएनन्। ६ पटक बालोन डी ओरसँगै विश्वकै सर्वोत्कृष्ट खेलाडी बने पनि मेस्सीले यही कारण आलोचना सहनुपर्याे। 

एकपल्ट खेलाडीका रुपमा र तीनपटक कप्तानका रुपमा मेस्सी ठूला प्रतियोगिताको फाइनलमा पनि पुगेका हुन्। तर जहिले पनि उनकाे देश अर्जेन्टिना उपविजेतामै सीमित रह्याे। 

३४ वर्षीय मेस्सीले अर्जेन्टिनाबाट १५१ खेल खेल्दा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलमा कप्तानका रुपमै पुर्याए। त्यसअघि २००७ मा उनी खेलाडीको रुपमा कोपाको फाइनल खेलेका थिए। चारै पटक मेस्सी अभागी भए। तर यसपटक भने उनले शानदार प्रदर्शनका साथ देशलाई ट्रफी दिलाएका छन्। 

कोपा अमेरिका फुटबलको फाइनलमा आइतबार बिहान रियोको माराकाना स्टेडियममा आयोजक ब्राजिललाई अर्जेन्टिनाले १–० गाेलले हरायो। रेफ्रीले अन्तिम सिठ्ठी फुकेसँगै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी खुसीसँगै भावुक देखिन्थे। उनलाई खेलाडीहरूले एकैछिनमा उचालेर सेलिब्रेसन गरे।  

मेस्सीले ७ खेलमा ४ गोल र ५ गोलमा सहायकको भूमिका निर्वाह गरे। अर्जेन्टिनाले प्रतियोगितामा गरेको १२ मध्ये ९ गोलमा उनको योगदान रह्यो। त्यसैकारण उनले प्रतियोगिताको दोहोरो उपाधि समेत हात पारे– नेमारसँगै सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता। 

जसका कारण पुनः एकपटक मेस्सीलाई उनका समर्थकले जीओएटी अर्थात् ग्रेटेस्ट अफ अल टाइम (सार्वकालिक महान्) भनिरहेका छन्। 

फुटबलमा मेस्सी कति लोकप्रिय छन् भन्ने कुरा जान्न अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक प्रसंग चर्चित छ। 

ओबामाले आफ्नो कार्यकालमा एकपटक औपचारिक रुपमा अर्जेन्टिनाको भ्रमणमा गए। त्यसक्रममा उनले पोप फ्रान्सिस्काे लगायत त्यहाँका सबै उच्चपदस्थ अधिकारीहरूलाई भेटे। तर, भ्रमणपछि आफ्नो अधूरो सपना पोख्दै उनले भने, ‘अर्जेन्टिनाको भम्रणका क्रममा मैले मेस्सीलाई भेट्ने मेसो मिलाउन सकिन। म अनि मेरी छोरीहरू मेस्सीलाई भेट्न चाहन्थ्यौँ।’

मेस्सीका सबै समर्थकहरू ओबामाका जस्तै विशिष्ट त छैनन् तर विश्वभर उनका सबै तह र तप्काका कराेडौँ समर्थकहरू छन्।

असाधारण प्रतिभा, निरन्तरको प्रयास र दृढ सिक्ने चाहनाले मेस्सीलाई विश्व फुटबलमा महान् खेलाडीको परिचय दियो। दश ला लिगा, चार च्याम्पियन्स लिग, तीन क्लब विश्वकप, तीन युरोपियन सुपर लिग, सात कोपा डेल रे र आठ स्पेनिस सुपर लिग बार्सिलोनामा मेस्सीले जितेका उपाधि हुन्। २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्णपदक, सन् २००५ मा अर्जेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि।

यी सबै मेस्सीले टोलीका रुपमा हासिल गरेका सफलता हुन्।

व्यक्तिगत रुपमा उनले ६ पटक विश्वको सर्वाेत्कृष्ट खेलाडीले पाउने बालोन डि’अर अवार्ड जितेका छन्। २०११–१२ को सिजनमा ला लिगामा ५० गोल गर्दै एक सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा गिनिज बुकमा नाम लेखाएका छन्। ला लिगाको इतिहासमा उनी सर्वाधिक गोलकर्ता पनि हुन्। यस्ता कैयौँ कीर्तिमान उनले बनाए र तोडे, जसको कुनै हिसाब छैन।

यी सबै उपलब्धि र कीर्तिमानका माझ पनि मेस्सीमा भने गजबको विनम्रता पाइन्छ। उनी भन्छन्, ‘म आफूलाई उत्कृष्ट खेलाडी मान्दिन, म अन्यजस्तै एउटा खेलाडी मात्रै हुँ। मैदानमा खेल सुरु हुँदा हामी सबै(खेलाडीहरू) एउटै हुन्छौँ।’

सुरुवात र बार्सिलोना आगमन
लिओनल आन्द्रेस मेस्सीको जन्म अर्जेन्टिनाको रोसारियो सहरमा सन् १९८७ जनवरी २४ मा भएको हो। १० लाख जनसंख्या भएको उक्त सहरको नजिकै रहेको उत्तरी क्षेत्र अर्जेन्टिनी माओ क्रान्तिका नेता चे ग्वे भाराको जन्मथलो पनि हो।

गाडी प्रतिबन्धित रोसारियोको सडकमा अन्य बालबालिकाहरूझैँ मेस्सी पनि बच्चैदेखि खुट्टामा बल लिएर हिँड्थे। फुटबलसँगको सामीप्यता त्यही बेलादेखि बढ्दै गयो। रोसारियाेका सडक उनका पहिलो मैदान थिए र सडकका पर्खाल उनका पहिलो गोलपोष्ट। अहिले यो स्थान १० नम्बर जर्सीका समर्थकका लागि तीर्थस्थल भइसकेको छ।

मेस्सीलाई यहाँसम्म पुर्याउन उनका परिवारको ठूलो हात छ। हजुरआमा सेलियाले उनलाई सानैदेखि फुटबलमा लाग्न प्रेरणा दिइरहिन्। उनलाई खेल्नमा कुनै समस्या नहोस् भनेर उनले मेस्सीलाई आवश्यक सबै चिज ठीक पारिदिन्थिन्। हजुरआमाले नै मेस्सीको साथ समात्दै पहिलो खेलसम्म डोर्याएकी थिइन्। अहिले पनि जतिपटक मेस्सी गोल गर्छन्, तिनै हजुरआमालाई सम्झिँदै आकाशतिर हेर्छन् र श्रद्धाञ्जलि व्यक्त गर्छन्। जो सन् १९९८ मा दिवंगत भएकी थिइन्।

फुटबलमा उनीसँग अद्भुत जन्मजात क्षमता थियो। तर, उमेरभन्दा निकै होचो उनको कद थियो। शरीरमा उचाइ वृद्धि गराउने हार्मोनको कमी उनको करिअरको बाधक बन्यो। त्यसको उपचार पनि महँगो थियो। मध्यमवर्गीय परिवारसँग उपचार गराउने पर्याप्त पैसा पनि थिएन।​

आफ्नो छोराको फुटबल प्रतिभा बुझेका बाबु जोर्गी उपायको खोजीमा लागे। उनी विभिन्न क्लबहरूमा प्रस्ताव लिएर गए, जुन क्लबले उनको उपचार खर्च व्यहोर्छ त्यस क्लबबाट प्रतिभावान् मेस्सी खेल्नेछन्।

सुरुमा उनका बुबा अर्जेन्टिनी क्लबहरूमा प्रस्ताव लिएर गए। न्युअल्स वोल्ड ब्वाइज र रिभर प्लेट जस्ता अर्जेन्टिनी क्लबहरू मासिक १ हजार डलर पर्ने मेस्सीको उपचार खर्च तिर्न तयार भएनन् र अर्जेन्टिनी क्लबले भविष्यका महान् खेलाडीलाई गुमायो। 

क्लब खोज्न भौँतारिरहेका बुबा जोर्गी बार्सिलोनाको सम्पर्कमा पुगे। मेस्सीको क्षमता हेरेपछि बार्सिलोनाका अधिकारीहरू भने उनको महँगो उपचार खर्च तिर्न तयार भए। जुन निर्णयले मेस्सीलाई महान् खेलाडी र बार्सिलोनालाई विश्वकै सर्वाधिक सफल क्लबमध्येको एक बनाइदियो।

‘मैले पहिलो दिनदेखि नै बार्सिलोनालाई पराइको सहर ठानिन्’, १३ वर्षे उमेरमा सेप्टेम्बर २००० मा बुबासँग बार्सिलोना पुगेका मेस्सी सम्झिन्छन्, ‘अजेन्टिना र यहाँ ठूलो संस्कृतिक भिन्नता पनि थिएन् अनि बार्सिलोना त्यस्तो सहर थियो जसले हजारौँ विदेशीहरूको स्वागत अनि हेरचाह गर्ने गर्थ्याे।’

सहरमा त समस्या भएन। तर, क्लब प्रवेशमा भने उनले संघर्षै गर्नुपर्यो। बार्सिलोनाका सुरुवाती दिन खेप्नुपरेको मानसिक दबाबलाई अर्थ्याउँदै उनले भनेका छन्, ‘मलाई जिन्दगीमा निराश बनाएको कुनै क्षण थियो भने त्यो बार्सिलोना प्रवेश गर्दाको थियो।’

एक अर्जेन्टिनी टेलिभिजनलाई सन् २००५ मा दिएको अन्तर्वार्तामा मेस्सीले त्यो कुरा खुलाउँदै भनेका छन्, ‘म उमेरमा पनि सानो थिएँ, उचाइ पनि निकै कम थियो। त्यसैले त्यसबेलाका प्रशिक्षकले ममाथि बार्सिलोनाले बेकारमा पैसा खर्च भन्दै होच्याउँथे। अन्य खेलाडीलाई ती प्रशिक्षकले यो बाहिरबाट आएको केटो, यहाँ रहन सक्दैन, यसलाई हामीले निकाल्नुपर्छ भन्थे। त्यसले मलाई निराश बनाउँथ्यो।’

तर, त्यहाँ उनको प्रतिभा चिनेर नै उनीमाथि पैसा खर्च गर्न राजी भएकाहरू पनि थिए। फलस्वरुप सन् २००१ मा मेस्सीले बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए। जहाँ उनको भेट प्रतिभावान् युवा खेलाडीहरूसँग भयो र उनीहरूसँग नियमित प्रशिक्षणको मौका पनि पाए।

लज्जालु स्वभावका मेस्सी सुरुवाती दिनहरूमा कोहीसँग बोल्दैनथे। सधैँ एक किनारमा गएर बस्ने गर्थे। मेस्सीसँग सुरुवाती दिन सँगै बिताएका सेस्क फेब्रिगास सम्झिन्छन्, ‘मेस्सी निकै होचा कदका थिए। कोहीसँग नबोलेर किनारामा गएर बस्थे। हामी मेस्सी बोल्न नसक्ने पो हुन् कि भन्ने ठान्थ्यौँ।’


बार्सिलोनामा मेस्सीले मच्चाएको सनसनी


नयाँ सहरमा आएको चार वर्षपछि सन् २००४ मा मेस्सीले बार्सिलोनाबाट डेब्यू गरे र छिटै युवा रोनाल्डिन्हो र अन्य नाम चलेका खेलाडीहरू उनका साथी बने। त्यसको दुई वर्षपछि उनले थुप्रै समर्थक कमाइसकेका थिए। नेउ क्याम्प (बार्सिलोनाको घरेलु मैदान)मा मेस्सी, मेस्सी नामको नारा लाग्न सुरु भइसकेको थियो।

सन् २००९ सम्ममा उनी फुटबलमा बादशाहको रुपमा अघि बढे। त्यस वर्ष त उनी र बार्सिलोनाले तहल्कै मच्चायो। त्यस वर्ष बार्सिलोनाले ६ वटा ट्रफी जित्दै इतिहास रचेको थियो।

कुनै पनि क्लबले हालसम्म पनि एकै वर्षमा यतिका उपाधि उचाल्न सकेको छैन्। बार्सिलोनाबाट सो वर्ष मेस्सीले कोपा डेल रे, ला लिगा, च्याम्पियन्स लिग, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग र यूइएफए सुपर लिगको उपाधि जितेका थिए।

सो क्रम अहिले पनि जारी छ। यस वर्ष मात्रै उनले बार्सिलोनालाई ला लिगा र कोपा डेल रेको उपाधि जिताए। ९ सिजन खेलिसकेका उनले हरेक सिजनमा लगातार ४० भन्दा बढी गोल गर्दै आएका छन्। जुन अरुका लागि असम्भवप्रायः लाग्छ।

‘म हरेक दिनलाई नयाँ चुनौतीका रुपमा लिन्छु र आफ्नो उत्कृष्ट खेल्ने प्रयास गर्छु’, उनी भन्छन्, ‘म विगतमा पनि त्यस्तै गर्थे र अहिले पनि त्यस्तै गरिरहेको छु।’

आलोचना र उपाधि
विश्वकप जित्ने ठूलो उपलब्धिको स्वाद भने मेस्सीले अहिलेसम्म चाख्न पाएका छैनन्। सन् २०१४ को विश्वकपमा उनी त्यसको निकै नजिक पुगिसकेका थिए। तर, विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० गोल अन्तरले पराजित भएसँगै मेस्सीको सपना अधूरै रह्यो। 

३४ वर्षे मेस्सीले जीवनमा देखेका लगभग सबै सपनाहरू पूरा गरिसकेका छन्। बाल्यकालमा उनले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका थिए। अहिले उनी अर्जेन्टिनाका कप्तान छन्।

यसअघि तीनपटक लगातार उनले अर्जेन्टिनालाई तीन मुख्य प्रतियोगिताको फाइनलसम्म पनि डोर्याए। २०१४ को विश्वकप, २०१५ को कोपा अमेरिका र २०१६ को कोपा अमेरिका सेन्चुनारियोको फाइनलमा। तर, तिनै फाइनलमा अर्जेन्टिना पराजित भयो। तीनवटै सपनाहरूको मुखैमा पुगेर उनी चिप्लिए।

परिणाम, अर्जेन्टिनामा मेस्सीको चर्को आलोचना भयो। उनकाे विराेधमा प्रदर्शन नै भयो। जर्सी जलाइयो। निराश बनेका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास समेत घोषणा गरे। पछि, अर्जेन्टिनी सरकार, प्रशिक्षक, सहकर्मी र शुभचिन्तकको चर्को दबाबपछि उनले सन्यास फिर्ता लिए।

तर यसपटक अन्ततः मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाएका छन। खेलको उत्तरार्धमा रहेकाले सायद मेस्सीले देशका लागि जितेको यो एकमात्रै ट्रफी बन्नसक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .