खेल


यस्तो रह्यो ओलम्पिकमा नेपालको प्रदर्शन

नेपालको सफलता राष्ट्रिय कीर्तिमानमै सीमित
यस्तो रह्यो ओलम्पिकमा नेपालको प्रदर्शन

लक्ष्मी जि.सी
साउन १५, २०७८ शुक्रबार १७:२७, काठमाडौँ

एथलेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १ सय मिटर दौडमा स्पर्धा गरेसँगै टोक्यो ओलम्पिक–२०२० मा नेपालको औपचारिक सहभागिता सकिएको छ। खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालको तर्फबाट ५ खेलाडीले ४ खेलमा स्पर्धा गरेका थिए।

सन् १९६४ देखि ओलम्पिकमा सहभागी भएको नेपालको सहभागिता अहिलेसम्म औपचारिकतामै सीमित भइरहेको छ। नेपालमा खासगरी २००४ को एथेन्स ओलम्पिकपछि यसको चर्चा हुन थालेको हो।

तेक्वान्दो खेलाडी संगीना वैद्यले छनोट चरण पार गरेर ओलम्पिक खेलेपछि नेपालमा चर्चा बटुल्न थालेको हो।  नेपालबाट अहिलेसम्म तेक्वान्दोका संगीना र दीपक विष्टले मात्रै छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन्। त्यसअघि र पछिका कुनै खेलाडीले छनोट चरण पार गर्न सकेका छैनन्। 

नेपालको प्रदर्शन 

ओलम्पिकको ३२ औँ संस्करणमा पौडीका गौरीका सिंह, एलेक्स शाह र एथलेटिक्सकी सरस्वती चौधरीले युनिभर्सालिटी प्लेसेसमार्फत प्रतिस्पर्धा गरेका थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्टले वाइल्ड कार्डमार्फत स्पर्धा गरेका थिए। 

ओलम्पिकमा सहभागी ५ मध्ये तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउन सके। पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) र गौरीका सिंहले १ सय मिटर फ्री स्टाइल तथा सुटिङकी कल्पना परियारले १० मिटर एअर राइफलमा कीर्तिमान बनाए। जुडोकी सोनिया भट्ट पहिलो चरणबाटै बाहिरिइन्। एथलेटिक्सकी सरस्वती चौधरीले व्यक्तिगत प्रदर्शन पनि सुधार गर्न सकिनन्। समग्रमा नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो त ? यसबारे केही चर्चा गरिएको छ। 

कल्पना परियार–सुटिङ 

टोक्यो ओलम्पिकमा नेपालको तर्फबाट पहिलो खेलमा सुटिङकी कल्पना परियारले स्पर्धा गरेकी थिइन्। गत शनिबार भएको खेलमा कल्पनाले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन्। त्रिभुवन आर्मी क्लबकी कल्पना वाइल्ड कार्डमार्फत पहिलो पटक ओलम्पिक खेल्न गएकी थिइन्। कल्पनाले महिलातर्फ १० मिटर एयर राइफल इभेन्टमा ६१६.८ अंक बनाउँदै आफ्नै कीर्तिमान तोडेकी हुन्। 

यसअघि १३ औँ दक्षिण एसियाली खेलकुदमा पनि कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। 

कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४, तेस्रोमा १०१.१, चौथोमा १०४.१ स्कोर गरेकी थिइन्। पाँचौ तथा अन्तिम सिरिजमा उनले १०३.४ स्कोर गरिन्। अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन्। समग्रमा ६ सय १६.८ स्कोरसहित उनले राष्ट्रिय कीर्तिमान बनाइन्। पहिलो चरणबाटै बाहिरिएकी कल्पनाले समग्रमा ४६ औं स्थानमा रहेर ओलम्पिक यात्रा टुङ्ग्याइन्। 

खेलपछि उनले भनिन्, अहिलेको जस्तो प्रशिक्षण पाउँदै गएमा आगामी दिनमा प्रदर्शनमा अझ सुधार गर्नसक्छु। यस्तै प्रशिक्षण पाए भने अन्य प्रतियोगितामा अझै सुधारिएको प्रदर्शन गर्नेछु।

सोनिया भट्ट– जुडो 

कल्पना जस्तै जुडोकी सोनिया भट्टको पनि यो पहिलो ओलम्पिक अनुभव हो। जुडोको ४८ केजी तौल समूहमा स्पर्धा गरेकी सोनिया पहिलो खेलमै पराजित भइन्। उनी पहिलो खेलमा रसिया ओलम्पिक कमिटीकी खेलाडी इरिना डोलगोभासँग पराजित भइन्।

राउन्ड अफ ३२ को प्रतिस्पर्धामा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन्। इरिनाले इप्पन जोड्दै सोनियालाई घरको बाटो देखाइन्। 

एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स)– पौडी 

पौडीका एलेक्जेन्डर शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए। एलेक्सले आफ्नो हिट जित्ने क्रममा आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोडेका हुन्। एलेक्सले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पार गर्दै कीर्तिमान बनाएका हुन्। एलेक्सकको नाममा यसअघि ५६.२८ सेकेन्डको कीर्तिमान थियो। 

पहिलो हिटमा प्रथम भए पनि एलेक्सले अर्को चरणमा स्थान बनाउन सकेनन्। अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले छोटो समयमा हिट चरण पार गरेकाले एलेक्स अघिल्लो चरण पुग्न सकेनन्। एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानसहित १० खेलाडीलाई उछिने। 

गौरीका सिंह– पौडी 

टोक्यो ओलम्पिकमा जलपरी गौरीका सिंहले औसत प्रदर्शन गरिन्। महिला १ सय मिटर फ्री स्टाइलमा गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दूरी पार गर्दै आफ्नै कीर्तिमान सुधार गरिन्। 

चार खेलाडी सम्मिलित हिटमा गौरीका तेस्रो भइन्। यसअघि गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान बनाएकी थिइन्। बेलायतको लण्डनमा बस्दै आएकी गौरीका ओलम्पिककै लागि नेपाल आएर केही समय प्रशिक्षण गरेकी थिइन्। 

खेलपछि उनले भनिन्, ‘टार्गेट त केही बनाएको थिइनँ, सकेसम्म राम्रो गर्ने तयारी गरेको थिएँ। कोरोनाले केही समय प्रशिक्षण गर्न पाएको थिइनँ। लङ कोर्टमा प्रशिक्षण गर्न पाएको भए सायद अझै राम्रो हुन्थ्यो होला।’ 
ओलम्पिकमा सहभागी गौरीका टोक्योबाटै लन्डन जानेछिन्। ‘अब तीन सातामा अमेरिका जान्छु’, उनले भनिन्, ‘त्यसैले लन्डन गएर परिवारसँग बस्छु।’

सरस्वती चौधरी– एथलेटिक्स 

एथलेटिक्सकी सरस्वती चौधरीले नेपालको तर्फबाट अन्तिम प्रतिस्पर्धीका रुपमा शुक्रबार खेलिन्। उनको स्पर्धागरेसँगै टोक्यो ओलम्पिकमा नेपालको यात्रा सकिएको छ। सरस्वतीले निर्धारित दूरी १२.९१ सेकेन्डमा पूरा गरिन्। छोटो समयको तयारीसहित ओलम्पिक पुगेकी सरस्वतीले यसअघिको उत्कृष्ट समय पनि सुधार्न सकिनन्। 

यसअघि २०१९ मा कतारमा भएको विश्व च्याम्पियनसिपमा १२.७२ सेकेन्ड र १३ औं सागमा उनको नाममा १२.५५ सेकेन्डको समय थियो। ‘ओलम्पिक खेल्ने टार्गेट थियो त्यो पुरा भएको छ। यहाँसम्म पुगेर नेपालको नाम राख्न सकें’, खेलपछि उनले भनिन्, ‘सोचे जस्तो त राम्रो गर्न सकिनँ, तर आउने दिनमा अझै राम्रो प्रदर्शन गर्नेछु।’ 

एथलेटिक्स अन्तर्गत म्याराथनमा धावक गोपीचन्द्र पार्कीले स्पर्धा गर्ने लामो तयारी गरेका थिए। तर नेपाल ओलम्पिक कमिटीले नाम दर्ता गर्न छुटाएपछि उनको स्थानमा महिला १ समय मिटर दौडमा सरस्वतीले प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .