कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहमा अर्जेन्टिनाले बोलिभियालाई सजिलै हराएको छ।
शुक्रबार बिहान भएको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ३–० गोलले हराएको हो। मेस्सीले खेलको १४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।
त्यसपछि दोस्रो हाफमा उनले दुई गोल गरे। खेलको ६४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अग्रता २–० मा पुर्याए।
खेलको ८८ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गरेका मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० ले विजयी बनाएका हुन्।
यो ह्याट्रिकसँगै मेसीले अर्जेन्टिनाका लागि गोल संख्या ७९ पुर्याए। यो ह्याट्रिकसँगै मेस्सीले दक्षिण अमेरिकामा सर्वाधिक गोल गर्ने ब्राजिलियन लेजेन्ड पेलेको कीर्तिमान भंग गरेका छन्।
ब्राजिलका लागि पेलेले ७७ गोल गरेका थिए। यस जितसँगै अर्जेन्टिनाले ८ खेलबाट १८ अंक जोडेको छ । दक्षिण अमेरिकाबाट अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ । बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा छ।
Shares

प्रतिक्रिया