राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ र क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित दर्जन बढी खेलाडी सरकारले प्रदान गरेको विभिन्न पदकबाट सम्मानित हुने भएका छन्।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको विभूषणबाट खेल क्षेत्रमा योगदान दिएका खेलाडी र प्रशिक्षकले विभिन्न पदक प्राप्त गरेका हुन्।
यही भदौ २९ गते मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले राष्ट्रिय फुटबल टोलीका कप्तान चेम्जोङ र क्रिकेट टोलीका कप्तान मल्ललाई प्रबल जनसेवाश्री पदकबाट सम्मान गर्न लागेकी हुन्।
नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट र नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दलाई जनसेवाश्री पदकबाट विभूषित गर्ने सरकारले निर्णय गरेको छ।
सरकारले प्रदान गरेको सुकीर्ति पदकबाट १३औँ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्णपदक विजेता अनु अधिकारी, ब्याडमिन्टनका पूर्वखेलाडी तथा अम्पाएर दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, पावर लिफ्टिङ खेलाडी प्रकाश केसी, उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल, करातेका लक्ष्मण तामाङ, ट्रायथलन खेलाडी सोनी गुरुङ, फुटबल खेलाडी विमला चौधरी, खेलकुद सामग्री उत्पादन कम्पनी केल्मीका प्रबन्धनिर्देशक उत्तम न्यौपानेलाई खेलकुद आयोजकका रुपमा पदक प्रदान गर्न लागेको हो।
जनसेवाश्री पदकबाट सागकी दोहोरो स्वर्णपदक विजेता तेक्वान्दोकी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक क्वन योङ दाल, पारा खेलाडी केशव थापा र हिमाल अर्याल विभुषित हुनेछन्। नेपाल प्रताव आभूषणबाट तेक्वान्दो खेलाडी तथा प्रशिक्षक लक्ष्मण बहादुर ऐर सम्मनित हुने भएका छन्।
Shares

प्रतिक्रिया