ad ad

खेल


ए डिभिजन क्लब च्यासलको कप्तानी विराजले गर्ने

ए डिभिजन क्लब च्यासलको कप्तानी विराजले गर्ने

नेपालखबर
असोज १२, २०७८ मंगलबार १३:४०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन्। 

च्यासल युथ क्लबले मगंलबार एक कार्यक्रमका बीच टोलीको कप्तान, प्राविधिक निर्देशक र खेल सामग्री प्रायोजक कम्पनीसँग सम्झौता गरेको हो। 

गत संस्करण मछिन्द्र क्लवलाई लिग जिताएका विराज यो पटक च्यासलमा अनुबन्ध भएका हुन्। 

विराजकै कप्तानीमा मनाङ र मछिन्द्र क्लवले लिगको उपाधि जितेको थियो। विराजले संकटा, न्युरोड टिम एनआरटी, मनाङ मर्याङ्दी, थ्री स्टार र मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलिसकेका छन्।

२०६४ सालमा सी डिभिजन लिग खेलेको च्यासल २०६६ मा बी डिभिजनमा उक्लिएको थियो। २०७३ सालमा ए डिभिजन लिगमा उक्लिएको च्यासलले यो संस्करण लिगको लागि राम्रो तयारी गरेको बताएको छ। 

च्यासलले यो पटक स्कटल्याण्डका ली मान्सनलाई प्राविधिक निर्देशकमा नियुक्त गरेको छ। २५ वर्षदेखि फुटबलमा सक्रिय रहेका मान्सन पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए। 

फिलिपिन्सको पुरुष यु–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेका मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए।

च्यासलले यो पटक सहीद स्मारक ए डिभिजन लिगका लागि अन्तर्राष्ट्रिय खेलकुद सामग्री उत्पादक कम्पनी ‘यूक्यान’सँग ‘किट’ प्रयोजक सम्झौता गरेको छ। 

प्रायोजन सम्झौता पत्रमा यूक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासल युथ क्लबका तर्फबाट अध्यक्ष रमेश व्यञ्जनकारले हस्ताक्षर गरे। 

३० वर्षदेखि खेल सामग्री उत्पादन गर्दै आएको यूक्यान चिनिया कम्पनी हो। सम्झौताअनुसार सीटीएलले क्लबलाई आवश्यक खेल सामाग्री उपलब्ध गराउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .