कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल छनोटअन्तर्गत शुक्रबार भएको खेलमा ब्राजिलले उरुग्वेमाथि फराकिलो जित दर्ता गरेको छ।
दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेविरुद्धको ४-१ गोलको फराकिलो जित निकालेको हो।
ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे भने नेयमार र ग्राबियल बार्बोसाले एक-एक गोल गर्न सफल भए। उता पराजित उरुग्वेका लुइस सुआरेजले एक सान्तवान गोल गरे।
ब्राजिलका लागि खेलको दशौं मिनेटमा नेयमारले गोल गरेर अग्रता दिलाएका थिए। नेयमारले ब्राजिलका लागि ७० गोल गरिसकेका छन्।
नेयमारले गोल गरेपछि खेलको १८ औं मिनेटमा राफिन्हाले गोल थप्दै अग्रता २-० बनाए। पहिलो हाफमा २ गोल गरेको ब्राजिलले दोस्रो हाफमा पनि २ गोल थप्यो।
खेलको ५८ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३-० ले अगाडि बढाए। त्यसपछि खेलको ७७ औं मिनेटमा उरुग्वेका लागि लुइस सुआरेजले गोल गर्दै खेललाई ३-१ को अवस्थामा पुर्याए।
तर ब्राजिलले फेरि गोल थप्यो। उसका लागि ८३ औँ मिनेटमा बार्बोसाले गोल गरेपछि ब्राजिलले ४-१ को जित दर्ता गर्यो। यस जितबाट ब्राजिलले ११ खेलमा ३१ अंक बनाएको छ। पराजित उरुग्वे १६ अंकसहित समूहको पाँचौँ स्थानमा छ।
Shares
प्रतिक्रिया