जावलाखेल युथ क्लबलाई पराजित गर्दै कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगमा नेपाल आयल निगम मनाङ– मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पाखा लगाएको हो।
खेलको पहिलो हाफमा मनाङलाई गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो हाफमा गोल खान पुग्यो।
मनाङको जितमा डिफेन्डर दिनेश राजवंशीले ५७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। गोलरक्षक तथा कप्तान टेकेन्द्र सिंह थापा अघि बढेको अवस्थामा दिनेशको हेडरले जाली चुमेको थियो।
त्यसअघि ३१औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा एडिलाजा सोमिडेको मिलाईदिएको हेडर पासमा ओलावाले आफिजले अफसाईड गोल गरेपछि त्यसले मान्यता पाएन।
४५ औं मिनेटमा सुरज ज्यु ठकुरीको कर्नरमा ओनागुना एनकेंगे जुनियरको हेडर क्रसबारमा लागेर फर्कदा जावलाखेल अग्रता बनाउनबाट चुकेको थियो।
जितसँगै मनाङले लिगमा ३ अंक जोडेको छ।
लिगको भोलि सोमबारको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब दिउँसो १ बजे भिड्नेछन्। भोलि नै हुने दोस्रो खेलमा मच्छिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ। सो खेल अपरान्ह पौने ५ बजे हुनेछ।
Shares

प्रतिक्रिया