खेल


ग्रानाडालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

ग्रानाडालाई हराउँदै रियल म्याड्रिड शीर्षस्थानमा

नेपालखबर
मंसिर ६, २०७८ सोमबार १७:१०, काठमाडौँ

स्पेनिस पावर हाउस रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४–१ गोलले हराउँदै रियलले शीर्षस्थान कब्जा गरेको हो।

१० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्काे असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गरे। ग्रानाडाका लुइस स्वारेजले सान्त्वना गोल फर्काए।  

एकपक्षीय खेलमा रियलले १९औं मिनेटमा खाता खोलेको थियो। मार्काे असेन्सियोले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोली रियलको उत्साह जगाए। २५औं मिनेटमा नाँचोले टोनी क्रुसकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।

त्यसपछि ३४औं मिनेटान लुइस स्वारेजले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गरे। उनले म्याक्सिमे गोनालोन्सको पासमा गोल गरेका थिए। तर ५६औं मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाए।

ग्रानाडा ६७औं मिनेटमा १० खेलाडीमा समेटियो। रियलका भिनिसियसलाई फल हालेपछि मोन्चुलाई सोझै रातो कार्ड पाउँदै बाहिरिएका थिए। मोन्चुको कार्डलाई लिएर रेफ्रीविरुद्ध खनिएका ग्रानाडाका प्रशिक्षक रोवर्ट मोरेनोलाई पनि दुई मिनेट लगत्यै रेफ्रीले रातो कार्ड देखाउँदै टच लाइन बाहिर पठाए।

ग्रानाडाका खेलाडी र प्रशिक्षकले रातो कार्ड पाएपछि केहीबेर तनावपूर्ण बनेको खेलमा रियलले पुनः अर्को गोल थप्यो। ७६औं मिनेटमा फर्लान्ड मेन्डीले क्यासेमिरोको पासमा गोल गर्दै रियललाई  सानदार जित दिलाए।

६९ प्रतिशत बल पोसेसन राखेको रियलले २१ वटा पोस्ट प्रहार गरेको थियो। खेलभर रियलको दबाबमा झेलेको ग्रानाडाले ११ वटा पोस्ट प्रहार गरेपनि फराकिलो हार खेप्यो। रियलका टोनी क्रुस ‘म्यान अफ दी म्याच’ भए।

जितसँगै शीर्षस्थानमा उक्लिएको रियलले दोस्रो स्थानमा रहेको रियल सोसिडाडलाई एक अंकले पछि पारेको छ। रियलको १३ खेलबाट ३० अंक छ। १४ खेल सकेको सोसिडाडको २९ अंक छ। घरेलु मैदानमा आइतबार रातिनै भएको खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्षस्थान गुमाएको हो।

तेस्रो स्थानमा रहेको सेभियाले २८ अंक बनाएको छ। रियलसँग पराजित ग्रानाडा ११ अंक सहित १८औं स्थानमा छ। अन्य खेलमा रियल बेटिसले इल्चेलाई ३–० र गेटाफेले काडिजलाई ४–० गोलले हराएको छ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो। ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ। हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .