नाईजेरियन खेलाडी अजायी मार्टिनको ह्याट्रिकमा नवप्रवेशी सातदोबाटो युथ क्लबले ए डिभिजन लिगमा सानदार जित निकालेको छ। जितसँगै सातदोबाटो अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। यता एपीएफले भने लिगमा लगातार तेस्रो हार व्यहोरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको तेस्रो चरणको दोस्रो खेलमा सातदोबाटोले विभागीय टोली एपीएफ फुटबल क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो। जारी लिगमा फराकिलो अन्तरमा जित दर्ता भएको पहिलो खेल हो।
सातदोबाटोको जितमा मार्टिन नायक बने। जारी लिगमा नै पहिलो ह्याट्रिक गरेका मार्टिनले खेलको ४२, पहिलो हाफको ईन्ज्युरी समय र ५८ औँ मिनेटनमा गोल गरे।
सातदोबाटोका लागि ५० औँ मिनेटमा सुसिल राईले थपे। एपीएफका लागि विकी तामाङले सान्त्वना गोल फर्काए।
खेल सुरु भएको १९ औँ मिनेटमा नै मुख्य गोलरक्षक अमृत चौधरीलाई गुमाएको एपीएफ दबाबमा आएको थियो।
खेलको ४२ औं मिनेटमा मार्टिनको गोलबाट सातदोबाटोले अग्रता बनाएको थियो। कप्तान मानबहादुर तामाङको फ्रिकिक प्रहारलाई पेनाल्टी बक्सबाट एपिएफका खेलाडीले क्लीयरको प्रयास गरे त्यहि रिबाउन्डमा प्राप्त बललाई सुदीप गुरुङले पास निकाले र त्यहि बलमा मार्टिनले गोलमा परिणत गरे।
पहिलो हाफमा थप गरिएको ६ मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा मार्टिनले अर्को गोल थपेका थिए। पासाङ लामाले दिएको पासमा मार्टिनले प्रहार गरेको बललाई सब्टीच्युट गोलकिपर दिलकुमारले नियन्त्रणमा लिन सकेनन् त्यहि बलमा मार्टिनले हेड गर्दै अग्रतालाई दोब्बर पारे।
मार्टिनले खेलको ५८ औँ मिनेटमा गोल गर्दै लिगमा पहिलो ह्याट्रिक पुरा गरे। सुदिप गुरुङको प्रहारलाई गोलरक्षकले बचाउ गर्न नसकेपछि मार्टिनले सहजै गोलमा परिणत गरे।
सातदोबाटोले लिगको पहिलो खेलमा फ्रेण्ड्स क्लबलाई बराबरी गरेको थियो। दोस्रो खेलमा भने थ्री स्टार क्लबलाई १–० ले हराएको थियो।
उता पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ को हार बेहोरेको एपिएफले दोस्रो खेलमा च्यासल युथ क्लबसँग १–० ले पराजित भएको थियो।
Shares

प्रतिक्रिया