ad ad

खेल


विभागीय टोलीले ल्याउलान् त विदेशी खेलाडी?

विभागीय टोलीले ल्याउलान् त विदेशी खेलाडी?

लक्ष्मी जि.सी
मंसिर २४, २०७८ शुक्रबार १०:३२, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सहभागी १४ टोलीमध्ये ३ टोली विभागीय हुन्। सामुदायिक क्लबहरुले छनोट हुँदै सी, बी र ए डिभिजनको यात्रा तय गर्दा विभागीय टोलीले भने त्यो सबै प्रक्रिया पूरा गर्नै परेन।

विभागीय टोली भएकै कारण सहजै ए डिभिजनमा प्रवेश पाएका ३ टोलीमध्ये नेपाल पुलिस क्लबले मात्र अहिलेसम्म लिगको उपाधि जितेको छ। अर्का २ टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपीएफले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन। 

एपीएफ उपाधि दौडको छेउछाउमा पनि पुग्न सकेको छैन। आर्मी भने दुईपटक उपाधि नजिक पुगेर पनि सफल हुन सकेन। २०६३ र २०७६ मा दुईपटक आर्मीले उपविजेतामा चित्त बुझाउनु परेको थियो।

नेपाली लिग अर्ध व्यावसायिक अवस्थामै छ। तर, पनि यहाँ विदेशी खेलाडीले नियमित लिग खेल्न थालेको डेढ दशक नाघिसकेको छ। विभागीय टोलीले भने अहिलेसम्म विदेशी खेलाडीलाई अनुबन्ध गरेको छैन। विभागमा नभएका नेपाली खेलाडीलाई भने करारमा खेलाउने अभ्यास विभागीय टोलीले गर्दै आएका छन्।

अन्य क्लबले विदेशी खेलाडी राख्दै टोलीलाई प्रतिस्पर्धात्मक बनाउँदै लैजाँदा विभागीय टोलीले भने आफूसँग भएकै खेलाडीका भरमा लिगको यात्रा सुरु गरेको छ। लिगको ३ चरणको खेल सकिएको छ। जसमा आर्मी र पुलिस क्लबले समान ५ अंक जोड्दा र एपीएफले अंकको खाता खोल्न सकेको छैन।

एसियाली फुटबल महासंघ (एएफसी) का आधिकारिक प्रतियोगिता खेल्न एएफसी लाइसेन्स लिन अनिवार्य भइसकेको छ। २०७६ को विजेता मच्छिन्द्रले क्लब लाइसेन्स नभएकै कारण एएफसी कप खेल्न पाएन। मच्छिन्द्रले खेल्न नपाएपछि उपविजेता आर्मीले नेपालको प्रतिनिधित्व गर्ने मौका पायो। त्यसको एक मात्र कारण आर्मीले क्लब लाइसेन्स प्राप्त गरिसकेको थियो। आर्मी क्लब लाइसेन्स लिने पहिलो नेपाली क्लब हो। एपीएफले पनि क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। पुलिस भने लिने क्रममा रहेको बताइएको छ।

क्लब लाइसेन्स प्राप्त गरेपछि विभागीय टोलीलाई पनि विदेशी खेलाडी भित्र्याउने बाटो खुलेको सम्बन्धित क्लबका प्रशिक्षकको बुझाइ छ। तर, विभागमा विदेशी खेलाडी भित्र्याउन प्रशिक्षकको चाहनाले मात्र सम्भव छैन। त्यसका लागि विभागले निर्णय लिनुपर्ने अवस्था छ।

विदेशी खेलाडी विना अब लिगमा चुनौती दिन भने कठिन हुने क्लबका प्रशिक्षकहरुको बुझाइ छ। दोस्रो चरणको समाप्तिमा नै विभागीय टोलीका प्रशिक्षकले विदेशी खेलाडी ल्याउन आवश्यक रहेको औंल्याएका थिए।

यसपटक नै विभागीय टोलीले विदेशी खेलाडी भित्र्याउने सम्भावना कम छ। लिगमा बलियो चुनौती पेश गर्न नसकेको अवस्थामा भविष्यमा भने टोलीले विदेशी खेलाडी भित्र्याउने विषयमा चर्चा सुरु गर्न सक्छ।

लगातार दुई खेलमा पराजित भएपछि एपीएफका प्रशिक्षक कुमार थापाले विदेशी खेलाडी ल्याउन क्लबले अब ढिला गर्नु नहुने बताएका थिए।

‘आफ्नै स्तरका टोलीसँग लगातार दोस्रो खेल गुमाएपछि हामीलाई गाह्रो भएको छ। अब विदेशी खेलाडी ल्याउने विषयमा व्यवस्थापनसँग कुरा गर्छु। विभागीय खेलाडीले मात्रै पनि धान्न त गाह्रो छ, उनले भनेका थिए, ‘क्लब लाइसेन्स पाए पनि अरु विभागीयले पनि विदेशी खेलाडी ल्याएको छैन। हामीले पनि त्यसलाई पछ्याए जस्तो लाग्छ। तर त्यसलाई अब त्यो विकल्प पनि खुला गर्नुपर्छ। व्यवस्थापकको तर्फबाट पनि त्यसलाई प्राथमिकतामा राख्नुपर्छ।’

विदेशी खेलाडी टोलीमा हुनु र नहुनुको अन्तर हुने थापाको अनुभव छ। उनले थपे, ‘विभागीय बाहेक सबै टिममा विदेशी खेलाडी छन्। त्यसले गर्दा लेभल फरक देखिन्छ। त्यसकारण पनि हामीलाई गाह्रो छ। एउटा टोलीमा ४ जना विदेशी खेलाडी हुनु भनेको धेरै हो।’

पुलिस क्लबका प्रशिक्षक अनन्त थापाको भनाइ पनि एपीएफका प्रशिक्षक थापासँग मिल्दोजुल्दो छ। ‘पछिल्लो समय नेपाली फुटबल व्यावसायिक हुँदै गएका कारण विभागीय टोलीले पनि विदेशी खेलाडी ल्याए उपाधिमाथिको दाबी बलियो हुन सक्छ’, थापाले भने, ‘एएफसी लाइसेन्स लिनैपर्ने भएपछि अब विभागीय टोलीले पनि विदेशी खेलाडी ल्याउनुपर्छ। हाम्रा टोलीमा राम्रा र एक्सपोजर नपाएका युवा खेलाडी छन् त्यसमा तीन जना विदेशी खेलाडी थपेर खेल्ने हो भने उत्कृष्ट प्रदर्शन गर्न सकिन्छ। तीन पटक ए डिभिजन लिग जितेको पुलिसले पछिल्लो एक दशकदेखि लिगको उपाधि जित्न सकेको छैन।

यसपटक सबै टोलीको स्तर समान देखिएकोले आउने खेल पनि त्यति नै कठिन हुने पुलिसका प्रशिक्षक थापाको अनुमान छ। हरेक खेल कठीन हुन्छ, जावलाखेलमाथि कठिन जित निकालेको पनि उनले बताए। 

विदेशी खेलाडीका विषयमा आर्मीका प्रशिक्षक नवीन न्यौपानेको भनाइ भने केही फरक छ। उनी घरेलु लिगकै लागि विदेशी खेलाडी आवश्यक देख्दैनन्। ‘एएफसी लाइसेन्स पाएकाले विदेशी खेलाडी राख्ने ढोका खुले पनि लिगकै लागि विदेशी खेलाडी चाहिन्छ जस्तो लाग्दैन। हामीसँग पर्याप्त खेलाडी छन्’, उनले भने, ‘तर, अन्तराष्ट्रिय प्रतियोगिता खेल्दा भने विदेशी खेलाडी आवश्यक देख्छु। विदेशी खेलाडी ल्याउन माथिबाटै प्रक्रिया सुरु गर्नुपर्ने भएकाले केही समस्या हुन्छ।’

पुलिस र आर्मीले विगतमा जस्तै उपाधि दौडमा चुनौती पेश गर्न कठिन भए पनि रेलिगेसन खतराको सामना भने गर्नुपरेको छैन। एपीएफ त्यो मामिलामा भने कमजोर रहँदै आएको छ। कुनै बेला रेलिगेसनको दबाबसमेत खेपेको एपीएफको लिगमा अहिलेसम्मको उत्कृष्ट नतिजा भनेको अंक तालिकाको पाँचौं स्थानमा रहनु हो।

सामुदायिक क्लबलाई चुनौती दिने हो भने ढिलो चाँडो विभागीय टोलीले पनि विदेशी खेलाडी भित्र्याउने विकल्पलाई खुला गर्नुपर्ने देखिएको छ।

लिगका तीन चरणमा विभागीय टोलीको प्रदर्शन

नवप्रवेशी सातदोबाटो युथ क्लब अपराजित रहेर ए डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा छ। २ खेलमा जित र १ खेलमा बराबरी गरेको सातदोबाटोलाई मच्छिन्द्र र मनाङ मर्स्याङ्दी क्लबले पछ्याइरहेका छन्। यी तीनै टोलीको समान ७ अंक छ।  

लिगको उपाधि ८ पटक जितेर कीर्तिमान बनाएको मनाङ मर्स्याङ्दी क्लब तेस्रो स्थानमा छ। संकटा, पुलिस र आर्मीको समान ५ अंक छ। संकटा चौथो, पुलिस पाँचौ र आर्मी छैटौँ स्थानमा छ। शीर्ष ६ मा रहने टोली अपराजित छन्। 

अंकको खाता खोल्न नसकेको एपीएफ फुटबल क्लब भने अंक तालिकाको पुछारमा छ। 

एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ र दोस्रो खेलमा च्यासल क्लबसँग १–० ले पराजित भएको थियो। तेस्रो खेलमा सातदोबाटोसँग ४–१ को फराकिलो अन्तरले हार व्यहोरेको थियो। 

पुलिस र आर्मीले भने १–१ को बराबरी खेल्दै लिगको यात्रा सुरु गरेका थिए। अघिल्लो संस्करणको उपविजेता आर्मीले भने साबिक विजेता मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो। तेस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबमाथि १–० को जित निकालेको थियो।  

पुलिसले अर्को खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराएको थियो। अर्को खेलमा हिमालयन शेर्पासँग १–१ को बराबरी गर्दै अंक बाँड्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .