ad ad

खेल


क्यानको निर्णयले कहाँ पुग्ला नेपाली क्रिकेट?

क्यानको निर्णयले कहाँ पुग्ला नेपाली क्रिकेट?

यज्ञराज जोशी
पुस ३, २०७८ शनिबार ११:१५, काठमाडौँ

सन् २०२२ मा अष्ट्रेलियामा टी–२० विश्वकप हुँदैछ। त्यसको ग्लोबल छनोट फेब्रुअरीमा २०२२ अर्थात झण्डै साढे २ महिनापछि ओमानमा हुँदैछ। 

उक्त ग्लोबल छनोटमा नेपालसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्याण्ड, ओमान, फिलिपिन्स र यूएई गरी ८ राष्ट्रले खेल्दैछन्। 

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष २ मा रहने टोली विश्वकपमा छनोट हुनेछ। यसपटक नेपाललाई २०१४ पछि विश्वकप खेल्ने राम्रो अवसर पनि छ।

त्यसैलाई मध्यनजर गर्दै २०१४ मा नेपाललाई टी–२० विश्वकपमा पुर्‍याएका प्रशिक्षक पुबुदु दासानायकेलाई क्यानले पुनः भित्र्याएको हो। पुबुदु आउने भएसँगै नेपालले पुनः विश्वकप खेल्छ कि? भन्ने आशा जागेको छ। जुन नेपाली क्रिकेटको भविष्यसँग जोडिएको प्रतियोगिता पनि हो। 

तर, विश्वकप छनोट मुखैमा आएका बेला बुधबार नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकले गरेको निर्णयपछि भने नेपाली क्रिकेटमा अन्योल थपिएको छ। 

क्यान बैठकले राष्ट्रिय टोलीको कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्रसिंह ऐरीलाई हटाउने निर्णयमात्रै गर्‍यो। 

अनुशासन उल्लंघन गरेको भन्दै गठित अनुशासन कमिटीले दिएको प्रतिवेदनका आधारमा बोर्ड बैठकले उनीहरुसँगै तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेन कि ज्ञानेन्द्रको स्थानमा लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तानको जिम्मेवारीसमेत दिएको छ। 

यस निर्णयले खेलाडीको मनोबल गिराउने काम गरेको र त्यसको असर आगामी प्रतियोगितामा देखिने राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा मुख्य छनोटकर्ता उत्तम कर्माचार्य बताउँछन्। 

‘फेब्रुअरीमा हुने विश्वकप छनोटलाई मध्यनजर गरेर कारवाही गरेको भए हुन्थ्यो। कप्तानबाट हटाउनु र ६ महिनासम्म तलब रोक्नुले मनोबलमा अलिकति तलमाथि हुनसक्छ,’ कर्माचार्यले नेपालखबरसँग भने, ‘क्यानको वक्तव्यमा खेलाडीलाई खेल्नबाट रोकेको त छैन। उच्च भावनाका साथ खेल्नुहुन्छ भनेर त्यसले केही असर नगर्ला। तर मनोबल तलमाथि भयो भने त्यसले आउँदा प्रतियोगितामा यसले पक्का पनि असर गर्छ।’ 

खेलाडीको नेपालको प्रतिनिधित्व गर्ने गरि खेल्ने हुनाले दायाँबायाँ नसोची खेलमा ध्यान दिन उनले सुझाव दिए। अझै इगो लिएर मुडेबल देखाउँदै अघि बढे नेपाली क्रिकेटको साख गिर्ने मात्रै नभएर जिरोमै पुग्ने उनी बताउँछन्। 

‘अझै पनि एकअर्कासँग इगो देखाएर अघि बढौं भनेर गए भने त्यसले नेपाली क्रिकेटलाई धेरै ठूलो असर गर्छ,’ उनले भने, ‘दुवै समूह मुढेबलमा गए भने अहिले जुन नेपाली क्रिकेटको साख छ, त्यो खस्किनेमात्रै होइन जिरो मै जान्छ।’ 

पूर्वकप्तान लेखबहादुर क्षेत्री हुर्किंदै गरेको नेपाली क्रिकेट, खेलाडी तथा पदाधिकारी व्यवसायिक भइनसकेकाले दीर्घकालीन असरलाई ध्यानमा नै नराखी यति कडा निर्णय लिन नहुने बताउँछन्। उनले क्यानको निर्णय डेमोक्रेटिक(प्रजातान्त्रिक) पृष्ठभूमिका मान्छेले गरेको निरंकुशताको संज्ञा दिए।

‘नेपालमा अहिलेपनि व्यावसायिकता भित्रिसकेको छैन कि एकैचोटी ठूलै सजाय दिइहालियोस्। यसले हुर्किरहेको नेपाली क्रिकेटलाई निरुत्साहित र दुरुत्साहित पार्छ,’ क्षेत्रीले नेपालखबरसँग भने, ‘क्यानका अध्यक्षलगायत पदाधिकारीको राजनैतिक आधार हेर्दा उहाँहरु लोकतन्त्रमा विश्वास राख्ने हुनुहुन्छ। तर, उहाँहरुको व्यवहार भने निरंकुश जस्तो भयो। बोलिस् कि गइस् भनेर देखाउन खोजिएको छ।’ 

बोर्डको निर्देशनलाई अवज्ञा गर्दै सामाजिक सञ्जालमा केही खेलाडीले सार्वजनिकरुपमै निर्णय नमान्ने जनाइसकेका छन्। 

क्यान बोर्ड बैठकको निर्णयका तलपट्टी ‘आइएम डन टू’ (मलाई पनि पुग्यो) लेख्दै खेलाडीले विरोध गरेका छन्। करण केसी, कुशल भुर्तेल, अविनाश बोहरा, रोहित पौडेललगायत खेलाडीले सामाजिक सञ्जालमा लेख्दै विरोध जनाएका हुन्। 

‘कारबाहीमा परेका चारजना र अहिले विरोध जनाएकाले पनि क्यानविरुद्ध बोल्दै एउटै किसिमले अनुशासन उल्लंघन गरेका हुन्’, क्षेत्रीले प्रश्न गर्दै भने, ‘यी खेलाडीले पनि ममाथि कारबाही गर भनेर देखाइसके। यस निर्णयको हामी विपक्षमा छौं भनिसके। अब उनीहरुमाथि कारबाही गर्ने कि नगर्ने?’

क्षेत्रीले सबैलाई अनुशासनको दायरामा ल्याउनु पर्ने उल्लेख गर्दै खेलाडीमामात्रै नभएर क्यानका पदाधिकारीमा पनि अनुशासन लागु हुनुपर्ने बताए। छानबिन समितिको प्रतिवेदन बोर्डमा प्रस्तुत हुनुअघि नै त्यसबारे सार्वजनिक रुपमा मिडियामा बोल्ने म्यान्डेन्ड कार्यवहाक सचिव प्रशान्तविक्रम मल्लसँग नभएको र उनले अनुशासन उल्लंघन भएको भन्दै उनीमाथि पनि कारवाही हुनुपर्ने कुरामा क्षेत्रीले जोड दिए। 

शुक्रबार एक होटलमा पत्रकार सम्मेलन गर्दै कप्तानबाट हटाइएका मल्ललगायतका खेलाडीहरुले क्यानलाई निर्णय पुनर्विचार गर्न र नभए ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस् भनेका छन्र

‘अहिलेका सबै समस्या समाधान होऊन्। खेलका लागि राम्रो वातावरण नबनोस्’, उनीहरुले भनेका छन्, ‘यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामी जस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस्।’

राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक तथा पूर्वकप्तान विनोद दासले क्यानको निर्णयले कोहीपनि खेलाडीलाई खेल्नबाट बञ्चित नगरिएकाले खेल्न छोड्नेजस्ता कुरा गर्दा खेलाडी क्रिकेट प्रति कति इमान्दार छ भन्ने प्रष्टाउने बताए। 

‘खेलभन्दामाथि आफ्नो व्यक्तिगत इगो हुनुहुँदैन। देशका लागि प्रतिनिधित्व गर्न पाउनु ठूलो सम्मान हो। धेरै कम खेलाडीले यो अवसर पाउँछन्। अहिले नेपालमा हजारजना खेलाडीले देशलाई प्रतिनिधित्व गर्ने सपना देख्दै होलान्,’ दासले नेपालखबरसँग भने, ‘तर अहिले टोलीमा रहेका खेलाडीहरुले त्यो सपनालाई जीवन्त रुपमा बाच्न पाइरहनुभएको छ। यदि तपाईको इगो त्यति ठूलो छ कि तपाईलाई त्यसले पनि म्याटर गर्दैन भने त्यसले तपाईंको क्रिकेटप्रतिको इमानदारी कति छ भन्ने देखाउँदैन? तपाईको प्राथमिकता के हो भन्ने देखाउँछन्।’

भारतीय कप्तान विराट कोहलीलाई कप्तानबाट हटाउँदा पनि उनले खेल्दिन नभनेको उदाहरण पेश गर्दै दासले भने, ‘क्रिकेट खेलाडीको लागि खेल्नुभन्दा ठूलो अरु केही हुँदैन। अहिले विराट कोहलीलाई कप्तानीबाट हटाइयो त। ७० प्रतिशत उसको कप्तानीमा टोलीले जित्दा पनि उनलाई कप्तानीबाट हटाइयो। उसले कहिलै खेल्दै खेल्दिनँ भनेन।’

क्यान अध्यक्ष चतुरबहादुर चन्द खेलाडीको काम खेल्ने भएकाले यसले राष्ट्रिय टोलीको प्रदर्शनमा असर नपुग्ने बताउँछन्। 

‘कप्तानको काम टोलीलाई एकजुट बनाएर लग्नुपर्ने हो तर त्यसो नभएर टोलीमा गुटउपगुट बनाएको प्रमाणसहित भेटिएपछि उहाँको स्थानमा अर्को कप्तान नियुक्त गरिएको हो,’ चन्दले भने, ‘खेलाडीको काम खेल्ने हो। त्यसैमा सबैजनाले ध्यान दिए प्रदर्शनलाई केही असर गर्दैन।’

कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले स्पष्टीकरण सोधेको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो। उक्त समितिले छानबिनपश्चात तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारबाहीको डण्डा चलाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .