नेपाल एपीएफ फुटबल क्लवले उपाधि दाबेदार त्रिभुवन आर्मी फुटबल क्लवलाई बराबरीमा रोकेको छ।
काठमाडौमा जारी कतार एअरवेज शहिद स्मारक ए डिभिजन लिगमा एपीएफले आर्मीलाई एक एक गोलको बराबरीमा रोकेको हो। आर्मीले खेलमा सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले बराबरी खेल्दै अंक बाँडेका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भयो।
खेलको ६३ औँ मिनेटमा जर्जप्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। दिनेश हेन्जनको पासमा कार्कीले एपीएफको बलियो डिफेन्सिभ लाईन तोड्दै गोल गरेका थिए।
त्यसको ३ मिनेटपछि नै एपीएफका विक्की तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको ६६ औँ मिनेटमा तामाङले आर्मीका गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसकेको बललाई पोष्टको जाली चुमाएका थिए।
बराबरीसँगै आर्मी चौथो र एपीएफ ११ औँ स्थानमा यथावत् छन्।
आजै हुने दोस्रो खेलमा फ्रेण्डसले न्युरोड टिम एनआरटीको सामना गर्नेछ। ख्ेल सोही मैदानमा अपरान्ह पौने ५ बजे हुनेछ।
Shares

प्रतिक्रिया