नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बहिष्कार गर्ने मुडमा देखिएका छन्।
क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो।
जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।
तर शनिबार साँझसम्म मल्लसहित कारबाहीमा परेका तत्कालीन उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले भने होटलमा रिपोर्टिङ नगरेको क्यानका एक सदस्यले नेपालखबरलाई जानकारी दिए।
यससँगै क्यान र खेलाडीबीचको विवादले नयाँ मोड लिने देखिएको छ। क्यानले मल्ललाई कारबाही गरेर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको थियो।
विनोद दास भन्छन्- कप्तानलाई नै सोध्नुस्, कति दिन अभ्यासमा जानुभयो?
नेपाली टिम सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने भनाइ सार्वजनिक गरेका छन्।
क्यानले अनुशासन उल्लंघन गरेको भन्दै चार जना खेलाडीमाथि गत मंसिर २९ गते कारबाही गरेको थियो।
मल्ल र ऐरीलाई पदमुक्त गरेको क्यानले उनीहरुसँगै बाँकी दुई जनालाई ६ केन्द्रीय महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।
खेलाडीहरुले रिपोर्टिङ नगरेसँगै आइतबारबाट हुने भनिएको बन्द प्रशिक्षण प्रभावित हुने भएको छ।
अब कसरी अघि बढ्ने भन्ने विषयमा आइतबार नै छलफल हुने भएको छ।
सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूमाथि अनुशासनको कारबाही गरेको थियो। आफूमाथि भएको कारबाहीको पुर्नविचार गर्न खेलाडीहरूले माग गर्दै आएका छन्।
Shares

प्रतिक्रिया