खेल


राष्ट्रिय क्रिकेट टोली आज मैदान नजाने, होटलमै आन्तरिक तयारी

राष्ट्रिय क्रिकेट टोली आज मैदान नजाने, होटलमै आन्तरिक तयारी

नेपालखबर
पुस १८, २०७८ आइतबार ९:४०, काठमाडौँ

चार खेलाडीलाई नेपाल क्रिकेट संघ(क्यान)ले अनुशासनको कारबाही गरेको भन्दै केही खेलाडीहरु सम्पर्कमै नआएपछि राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण प्रभावित बनेको छ।

क्यानले आगामी फेब्रुअरीमा हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बन्द प्रशिक्षण बोलाएको थियो। जसका लागि शनिबारसम्म बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई होटलमा रिपोर्टिङका लागि निर्देशन दिइएको थियो।

तर शनिबार रातिसम्म कारबाहीमा परेका तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीसहित केही खेलाडी सम्पर्कमा नपुगेपछि बन्द प्रशिक्षण प्रभावित हुने देखिएको थियो। ‘आज खेलाडीहरुको आन्तरिक तयारी होटलमै हुन्छ। प्रशिक्षणसँग अन्र्तक्रिया, फिजियो र योजना निर्माणका कामहरु हुन्छन्,’ क्यानका एक सदस्यले नेपालखबरसँग भने, ‘भोलि देखि मैदानमै गएर बन्द प्रशिक्षण हुनेछ।’

विश्वकप छनोटका लागि दुई महिना कमको समय बाँकी रहँदा नेपाली क्रिकेट टोलीको भने बन्द प्रशिक्षण नै सुरु हुन नसकेको हो। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै चार जना खेलाडीमाथि गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदमुक्त गरेको क्यानले उनीहरुसँगै बाँकी दुई जनालाई ६ केन्द्रीय महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूमाथि अनुशासनको कारबाही गरेको थियो।

आफूमाथि भएको कारबाहीको पुर्नविचार गर्न खेलाडीहरूले माग गर्दै आएका छन्। नेपाली टिम सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने भनाइ सार्वजनिक गरेका छन्।

यता खेलाडीहरुले आफूहरुमाथि गरिएको कारबाही फिर्ता गर्न मागसहित क्यानमा शनिबार नै इमेलमार्फत औपचारिक पत्र पठाएका छन्। शनिबार होटलमा उपस्थित नभएका चार खेलाडीहरूले आफूमाथिको कारबाही फिर्ता गरिपाऊँ भनी इमेलमार्फत पत्र पठाएको क्यानका एक सदस्यले जानकारी दिए। खेलाडीहरूले पठाएको पत्रबारे क्यानले तत्कालै केही निर्णय नगर्ने भएको छ। ’बोर्ड बैठकले गरेको निर्णय बैठकबाटै मिलाउनुपर्छ। तत्काल बोर्ड बैठक डाकिएको छैन। उक्त बैठक बसेपछि मात्रै खेलाडीहरुउपर छलफल हुन्छ,’ ती सदस्यले नेपालखबरलाई भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad