ad ad

खेल


क्यान-ज्ञानेन्द्र मल्ल छलफल, दुवै पक्षले अडान नछाड्दा कुरा मिलेन

कप्तानमा पुनर्वहाली गर्न माग
क्यान-ज्ञानेन्द्र मल्ल छलफल, दुवै पक्षले अडान नछाड्दा कुरा मिलेन

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०७८ आइतबार १५:४७, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र तत्कालीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लबीच भएको छलफल निष्कर्षविहीन बनेको छ। 

सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक रुपमा बोलेपछि अनुशासनको कारबाहीमा परेकासहित १४ खेलाडी आइतबारबाट सुरु बन्द प्रशिक्षणमा उपस्थित भएका थिएनन्। 

खेलाडीहरूले बन्द प्रशिक्षण बहिष्कारको संकेत गरेपछि क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसँग एक होटलमा आइतबार नै छलफल गरेको छ। 

बैठकमा दुवै पक्षले पुरानै अडान दोहोर्‍याएको छलफलमा सहभागी क्यानका एक सदस्यले बताए। 

‘हामीले लिखित रुपमा आएका माग सिस्टमअनुसार हल गर्दै जानेछौँ। बन्द प्रशिक्षणमा सहभागिताका लागि भनेका छौँ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘मल्लले आफूहरुमाथि कारबाही बढी भएको बताउँदै कारबाही पुनर्विचार गर्न अनुरोध गरे।’ 

अनुशासन उल्लंघन गरेको पाइएपछि तत्कालीन कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्दै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो। 

छलफलमा ज्ञानेन्द्रले आफू कप्तान भइरहेकै बेला एक्कासि हटाउँदा राम्रो सन्देश नगएको भन्दै कप्तानमा बहाली हुनुपर्ने मनसाय देखाएको छलफलमा सहभागी ती सदस्यले भने। 

‘कप्तान भइरहेका बेला एक्कासी हटाइदिन राम्रो भएन। हामीले गल्ती स्वीकार गरिसकेका छौँ। अब क्यानले निर्णय फिर्ता गरिदियो भने सहजताका साथ क्याम्पमा आउँछौँ भन्ने मनसाय उनको देखियो,’ ती सदस्यले भने। 

क्यानले नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके लगायत पदाधिकारीहरूसँग छलफल गर्दै थप निर्णय गर्ने जनाएको छ।  

‘क्यान सधैँ समाधानका लागि खुला छ। प्रशिक्षक आउनुपूर्व नै हामीले पटकपटक असन्तुष्ट खेलाडीहरूका कुरा सुनिसकेका छौँ र अझैपनि निरन्तर छलफलमै छौँ,’ उनले भने, ‘सिस्टममा जाऔँ भन्ने कुरा हो। एउटा व्यक्तिले गरेको कारबाही होइन। समितिले सिफारिस गरेर बोर्डले गरेको कारबाही हो। लिखित रुपमा खेलाडीहरूका माग आउँछन् भने अहिले पनि समस्याको समाधान निकाल्न तयार छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .