ad ad

खेल


ए डिभिजन लिगः नवौँ चरण आजदेखि सुरु हुँदै

ए डिभिजन लिगः नवौँ चरण आजदेखि सुरु हुँदै

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ७:११, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदै छ। 

नवौँ चरणको खेलपछि लिग एक महिना स्थगित हुनेछ। आगामी फागुन १४ गतेसम्म लिगका सबै खेल सक्ने तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको छ। 

नवौँ चरणका सबै खेल दशरथ रंगशालामा हुनेछन्। पहिलो दिन आज नेपाल एपीएफ फुटबल क्लब र हिमालयन शेर्पा क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले स्पर्धा गर्नेछन्।

पहिलो खेल दिउँसो १ बजे र दोस्रो खेल साँझ पौने ५ बजे सुरु हुनेछ। 

आठौँ चरणको खेल सकिदा शेर्पा ३ खेलमा जित, २ मा बराबरी र ३ खेलमा हार भोग्दै ११ अंकमा तालिकाको छैटौँ स्थानमा छ। 

लिगमा खराब सुरुवात गरेको एपीएफ भने पछिल्लो समय लयमा देखिएको छ। एपीएफले आठ खेल सकिँदा १ मा जित, ४ खेलमा बराबरी र ३ खेलमा हार भोग्दै ७ अंक जोडेको छ। 

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले तयारी राम्रो भइरहेको बताए। यसअघिको खेलमा भएको कमी कमजोरीलाई हटाउँदै आगामी खेलमा आक्रामक फुटबल खेल्ने रणनीतिमा रहेको बताए। रेलिगेसन क्षेत्र छाडे पनि रेलिगेसनको दबाब भने टोलीमा रहेको उनले बताए।

‘त्यसैले शुक्रबारको खेलमा ३ अंकको लागि नै मैदान उत्रने छौँ। शेर्पा राम्रो टोली हो। यो पटक सबै टोली उत्तिकै राम्रो भएकाले जसले पाएको अवसरमा गोल गर्छ त्यसैले जितिरहेको छ। शेर्पाविरुद्ध केही रणनीति बनाएका छौं, जसमा हामी सफल हुनेछौँ’, उनले थपे।

अंक तालिकाको दोस्रो स्थानमा रहेको मनाङ भने शीर्ष स्थानमा रहनका लागि सातदोबाटोसँग खेल्नेछ। ८ खेल मध्ये ६ खेलमा जित, १ मा हार र १ खेलमा बराबरी गरेको मनाङ उपाधिका लागि खेलिरहेको छ। 

मनाङका मुख्य प्रशिक्षक फुजा तोपेले आफूहरु जितको लागि नै मैदान उत्रने बताए। उनले भने, लिगमा नयाँ टोली हो सातदोबाटो तर राम्रो खेलिरहेको छ त्यसैले हामी जितका लागि नै खेल्नेछौँ।

लिगको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको सातदोबाटो युथ क्लब भने पछिल्लो खेलमा कमजोर प्रदर्शन गरिरहेको छ। सुरुवातमा नयाँ टोली हुँदा र नयाँ युवा जोश भएको तर अनुभवको कमीका कारण केही खेल गुमाएको प्रशिक्षकले बताए। 

सातदोबाटोका प्रशिक्षकले थपे, ‘मनाङ लिगको सबैभन्दा राम्रो टोली हो। सातदोबाटो पनि कमजोर छैन। हामीले अघिल्ला खेलमा गरेका गल्ती सुधार्दै आएका छौँ।’  नयाँ टोली भए पनि आफूहरुले सबै खेल ३ अंकको लागि नै खेलिरहेको उनले बताए। 

दुई खेलमा पहेँलो कार्ड पाएपछि यसअघिको खेल गुमाएका अजायी मार्टिन आज मनाङ विरुद्ध मैदान उत्रिँदैछन्। 

२ खेलमा जित, समान ३ खेलमा बराबरी र हारको नतिजा भोगेको सातदोबाटो क्लब भने अंक तालिकाको आठौँ स्थानमा छ। 

शनिबार फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्दा थ्रीस्टार क्लबले संकटा क्लबको सामना गर्नेछ। 

आइतबार ब्रिगेड ब्वाइज क्लबले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको सामना गर्दा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबसँग खेल्नेछ। 

नवौँ चरणको अन्तिम खेलमा न्युरोड टिमले जावलाखेल युथ क्लबसँग खेल्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .