भारतले यही मंसिर १५ देखि नेपालले आयोजना गर्ने दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको पुरुष फुटबलमा सहभागिता नजनाउने भएको छ। सन् १९८४ मा भएको सागको पहिलो संस्करणमा नखेलेको भारतले त्यसपछि यसपटक सहभागिता नजनाउने निर्णय लिएको हो।
भारतले हालसम्म महिला फुटबल टोलीको मात्रै नाम दर्ता गरेको नेपाल ओलम्पिक कमिटि (एनओसी) ले जनाएको छ। पुरुष फुटबल भने नखेल्ने जनाउँदै भारतले खेलाडीको नाम नपठाएको र भारतीय ओलम्पिक कमिटिले पनि नखेल्ने जनाइसकेको एनओसी स्रोतले वतायो।
यद्यपी मंगलबार (भदौ १०) मा हुने प्रतिनिधि दर्ता बैठक (डीआरएम)’ बाट मात्रै कुन खेलमा को को सहभागिता जनाउने भन्नेबारे अन्तिम टुंगो लगाउने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए।
‘मंगलबार डीआरएम बैठक तोकिएको छ। त्यसले सागमा कुन खेलमा को को खेलाडीहरु सहभागिता हुने भन्नेबारे अन्तिम निर्णय गर्नेछ,’ नेपालखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘डीआरएमको बैठकपछि मात्र कुन प¥यो, कुन परेन भन्न सकिन्छ। त्यो मिटिङले फाइनल सूचि तयार पार्नेछ र त्यसपछि तलमाथि केही हुँदैन।’
भारतीय ओलम्पिक कमिटिले यसअघि फुटबलको महिला र पुरुष स्पर्धामा सहभागी हुने जनाएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत शुक्रबार भारतसहितको ‘ड्र’ (खेल तालिका) सार्वजनिक गरेको थियो।
सो तालिकाअनुसार समूह–कमा नेपालसँगै बंगलादेश र भुटान थिए भने समूह–खमा भारत, माल्दिभ्स र श्रीलंका थिए। तर भारत नखेल्ने भएपछि अब ५ टोलीको मात्रै सहभागिता हुनेछ। त्यसो हुँदा तालिका परिवर्तन गर्नुपर्छ र राउण्ड रोबिनको आधारमा खेलाइने एन्फाका लिग निर्देशक सञ्जीव मिश्रले बताए।
‘भारतीय टोली खेल्ने नखेल्नेबारे सागको प्राविधिक समितिमा जानकारी नआइसकेको र जानकारी आएपछि उनीहरुसँगको समन्वयमा ड्र (तालिका) सार्वजनिक हुन्छ,’ मिश्रले भने।
किन आएन भारत?

भारतीय खेलाडीहरु सागमा उपलब्ध नहुनुको मुख्य कारण उनीहरुको व्यस्त तालिकालाई मानिएको छ। भारतको शीर्ष डिभिजनको व्यवसायिक फुटबल लिग इण्डियन सुपर लिग गत अक्टोबरदेखि जारी छ। त्यस टोलीमा यूरोपका खेलाडीहरुले पनि प्रतिस्पर्धा गर्दैछन। भारतीय सिने तथा खेल क्षेत्रका स्टार तथा ठूला व्यवसायिक घरानाको लगानी रहेको टिममा खेलाडीहरुले कराडौं कमाउँछन।
त्यस्तै, मंसिर १४ देखि अर्को शीर्ष आइ लिग शुरु हुँदैछ। यो भारतको पूरानो र प्रतिष्ठित लिगको रुपमा गनिन्छ। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ समेत आइ लिगको क्लब मिनेर्भा पञ्जाबबाट व्यवसायिक लिग खेलिरहेका छन।
दुबै लिगका क्लबले ठूलो पैसा खर्चेर लगभग सबै भारतीय खेलाडीलाई अनुबन्ध गरेका छन्। सागलाई फिफा तथा एएफसीको पनि मान्यता छैन। ‘सागलाई ओलम्पिकको मात्रै मान्यता हो। ठूलो खर्च गरेर अनुबन्ध गरेका खेलाडीलाई क्लबले फिफा, एएफसीबाहेकका प्रतियोगिताका लागि क्लबले पनि छोड्न बाध्य हुँदैनन,’ भारत नआउनुको कारणबारे फुटबल विश्लेषक समेत रहेका मिश्रले अनुमान लगाए।
नेपाललाई फाइदा भन्दा बढी घाटा

दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा बलियो देश हो। भारतलाई हराउँदै नेपालले अघिल्लो १२औं सागको उपाधि जितेको थियो। भारतले नेपालमाथि नाकाबन्दी लगाएकै बेला भारतीय भूमिमैं उक्त उपाधि जित्दा सबै नेपालीहरु उत्साहित भएका थिए।
पाकिस्तानले यसअघि नै नखेल्ने जनाइसकेपछि पुरुष फुटबलमा ६ टोलीले खेल्ने तय भएको थियो। त्यसै अनुसार एन्फाले ड्र सार्वजनिक गर्दै सबै टोलीलाई २ समूहमा बाड्दै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान बनाएको थियो।
सो ड्र अनुसार नेपाल सजिलो समूहमा परेकाले सेमिफाइनलको सम्भावना बलियो थियो। तर ५ टोलीमात्रै खेल्ने भएपछि अब लिग–कम–नकआउट नभई राउण्ड रोबिनका आधारमा सबै टोलीले एकअर्कासँग खेलेपछि मात्रै शीर्ष दुई टोली फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन।
‘लिग–कम–नकआउट भएको भए हामीले एक खेल जितेमात्रै सेमिफाइनल पुग्ने सम्भावना थियो,’ विश्लेषक मिश्रले भने, ‘राउण्ड रोबिन हुँदा हामीले चार वटै राम्रो देशसँग लिग चरणमै भिड्नुपर्नेछ। अहिले यस क्षेत्रमा सबै देशहरु समान स्तरका छन। थोरै पनि नतिजा तलमाथि हुँदा सेमिफाइनल मैं नपुग्ने जोखिम हुन्छ। त्यसले चुनौती थपेको छ।’
गतवर्ष भएको दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) मा नेपाललाई माल्दिभ्सले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको थियो। यस्तै बंगलादेश र श्रीलंकाले पनि पछिल्लो समय आफ्नो स्तर निकै सुधारेका छन। भुटानले भने हालसम्म नेपाललाई पराजित गर्न सकेको छैन।
नेपाली प्रशिक्षक बालगोपाल महर्जन भने जुन टोली भएपनि आफूहरुले राम्रो फुटबल खेल्नेमा विश्वस्त रहेको बताए। ‘भारत नआएपछि दक्षिण एसियाका टोलीहरुको स्तर उस्तै छ,’ महर्जनले भने, ‘हामीले को टिम छ भन्दा पनि उपाधि रक्षालाई मुख्य लक्ष्य लिएका छौं। अरु टिम हुँदा पनि हामीलाई सहज हुनेछैन। घरेलु मैदान भएकाले त्यसको फाइदा हामीले उठाउनेछौं।’
घट्ने भो रौनक
भारत सहभागी नहुने भएपछि फुटबलको रौनक पनि घट्ने मिश्र बताउँछन। ‘भारतसहित ६ टोली भएर दुई समूह बनाएर खेलेको भए प्रतियोगिताको ग्ल्यामर नै छुट्टै हुन्थ्यो,’ उनले भने, ‘तर, बलियो टोली भारत नहुँदा प्रतियोगिताको आकर्षण भने घट्नेछ।’
योसँगै नेपाली समर्थकले पाँच वर्ष कुर्दापनि भारतविरुद्ध दशरथ रंगशालामा नेपालले खेलेको हेर्ने सपना पूरा नहुने भएको छ। नेपालले अन्तिम पटक २०१४ को विश्वकप छनोटमा भारतविरुद्ध दशरथ रंगशालामा खेलेको थियो।
‘भारत नेपालको चिरप्रतिद्वन्द्वी पनि हो। भारतसँग खेल हुने भएपछि मिडिया, सामाजिक सञ्जालहरु पनि त्यत्तिकै तातिन्छन्। मान्छेहरु रंगशालामा खेल हेर्न आतुर हुन्छन्,’ आफ्नो अनुभव सुनाउँदै मिश्रले भने, ‘छिमेकी देशहरुबीच विश्व फुटबलमा पनि कडा प्रतिद्वन्द्विता हुन्छ। नेपाल र भारतबीचको खेलमा पनि त्यही कडा प्रतिस्पर्धा देखिन्थ्यो। तर, भारत नखेल्ने भएपछि नेपाली समर्थकहरुलाई केही खल्लो भने पक्कै हुन्छ।’

प्रतिक्रिया