ad ad

खेल


खेलाडीबाट पाइलट बनेका थिए क्याप्टेन प्रभाकर

खेलाडीबाट पाइलट बनेका थिए क्याप्टेन प्रभाकर

लक्ष्मी जि.सी
जेठ १८, २०७९ बुधबार ७:१७, काठमाडौँ

सधैँझैँ अघिल्लो शनिबार पनि उनले दिनभर यात्रुलाई जोमसोम पुर्याएका थिए। तर आइतबारको बिहान उनको जीवनकै प्रतिकूल बन्यो। 

उनले उडाएको तारा एयरको विमान दुर्घटनामा पर्यो र सदाका लागि अस्ताए प्रभाकर। 

प्रभाकर अर्थात् क्याप्टेन प्रभाकर प्रसाद घिमिरे। योसँगै तीन दशक लामो समय हवाइ उड्डयनमा उनले बिताएको यो समय अब सम्झनामा सीमित भएको छ। 

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार तारा एअरको ट्विनअटर विमान दुर्घटना हुँदा उनीसँगै त्यसमा सवार सबै २२ जनाको दुर्घटनामा मृत्यु भयो।  मृत्यु हुनेमा चालकदलका ३ र अन्य १९ यात्रु थिए। 

पाइलट बन्नुअघि व्यावसायिक खेलाडी थिए प्रभाकर 
३ दशकभन्दा लामो समय उडानमा बिताएका प्रभाकर कुनै बेला फुटबलका पनि राम्रा खेलाडी थिए। 

ए डिभिजन क्लब संकटाबाट उनले नेपालको शीर्ष लिग खेलेका थिए। बीचैमा छाडेपछि प्रभाकरले राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न सकेनन्। उनी पाइलट बन्न चाहन्थे। फुटबल छोडेपछि त्यो सपना पनि पूरा गरे। 

प्रभाकर चर्चित क्लब संकटाबाट फुटबल खेल्थे। छोटो समय फुबटलमा बिताए पनि त्यसलाई उनले यादगार बनाएको बताउँछन् फुटबल विश्लेषक सञ्जीव मिश्र। 

‘प्रभाकरले लामो समय त फुटबलमा बिताएनन् तर जति खेले क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले’, मिश्रले सम्झिए, ‘लिगबाहेक त्यो बेला शुभजन्मोत्सव कप र त्रिभुवन च्यालेन्ज कप हुन्थ्यो। त्यो बेलामा नकआउट टिममा बी टिमका खेलाडी खेलाइने गरिन्थ्यो, प्रभाकर बी टिमको खेलाडी भए पनि त्यो प्रतियोगिता खेलेका थिए।’ 

त्यो बेलामा प्रभाकरले बी डिभिजन खेलेको धेरै नहेरेको बताउँछन् मिश्र। 

उनले भने, ‘धेरै हेरिन तर ए डिभिजनबाट खेलेको हेर्दा बल कन्ट्रोल एकदम राम्रो थियो। विपक्षीलाई बिट गर्नसक्ने, विपक्षी खेलाडीको क्षेत्रमा पनि राम्रोसँग खेल्नसक्ने र स्पेसलाई सदुपयोग गर्नसक्ने जादुयी कला उनमा थियो।’ 

क्याप्टेन प्रभाकर : मुस्ताङको कुहिरोमै बिलाए ३० वर्ष उडान भरेका अनुभवी पाइलट

तीन उपाधिमा योगदान 
छोटै समयका लागि खेले पनि प्रभाकरले संकटा क्लबले जितेका तीन लिग उपाधिमा राम्रो योगदान गरेका थिए। 

संकटा क्लबले सन् १९७९ मा त्रिभुवन च्यालेन्ज कप जित्दा होस् वा संकटाले सन् १९८०, १९८३ र १९८५ मा ए डिभिजन लिगको उपाधि उचाल्दा प्रभाकर टोलीका महत्वपूर्ण सदस्य थिए। 

त्यो समयका रजतमान तुलाधर, राजु शाह, सुरेन्द्र सिख्राकार, कल्याणध्वज बस्नेत, उमेश पाण्डे उनका समकक्षी हुन्। जीवन शाही, गणेश थापा लगायतका लेजेन्ड खेलाडीले पनि उनीसँग खेलेका छन्। 

राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्न नसके पनि उनले अर्को उचाइ छुने संकल्प गर्दै २०४३ सालपछि फुटबल यात्रालाई बिट मारे। 

पाइलट पढ्न विदेश लागे। पाइलट हुँदै प्रशिक्षक पाइलटसम्मको अनुभव बटुले। एकपछि अर्को गरी उनले उड्डयनमा प्रगति हात पार्दै गएका थिए।

‘तिम्रो सधैँ याद आइरहनेछ प्रभाकर!’
प्रभाकरको देहावसानपछि संकटा क्लबले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गरेको छ। 

उनका समकक्षी तथा संकटा क्लबका पूर्वखेलाडी उमेश पाण्डेले यो दुर्घटनाले आफू अत्यन्तै स्तब्ध र दुःखित भएको बताए। 

उनले लेखेका छन्, ‘प्रभाकर, तिमी एउटा राम्रो टोलीका राम्रा सदस्य थियौ। मनमोहक र मिलनसार व्यक्तित्वको साथमा उत्कृष्ट टोलीको सदस्य पनि हौ, यो हामी सबैका लागि हृदयविदारक क्षण हो, यो अपूरणीय क्षति सहनसक्ने शक्ति भगवानले तिम्रो परिवारलाई प्रदान गरून्, दिवंगत आत्माले स्वर्गमा बास पाओेस्। तिम्रो सधैँ याद आइरहनेछ प्रभाकर!’  

उनका अर्का समकक्षी तथा संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र शिख्राकार उनलाई सम्झिँदै भन्छन्, ‘उहाँ एकदम राम्रा खेलाडी हुनुहुन्थ्यो। सधैँ मिडफिल्डमा खेल्नुहुन्थ्यो। मभन्दा २/४ वर्ष सिनियर हुनुहुन्थ्यो तर हामी सँगै पनि खेल्यौँ। हामीले मैदानमा ४/५ वर्ष सँगै बितायौँ।  उहाँ खेलाडी मात्र हैन, समाजसेवी, सबैलाई सहयोग गर्ने, कहिल्यै ठूलो स्वर नगर्ने र सबैलाई प्रेरणा दिइरहने व्यक्ति हो। 

मिडफिल्डरका रुपमा मैदानमा विपक्षीबाट बललाई बचाएर सही दिशा दिने उनै प्रभाकरले पहाडले घेरिएको त्यो ठाउँमा विमानसँगै आफ्नो ज्यानलाई भने जोगाउन असफल भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .