स्विजरल्यान्डमा सम्पन्न लोकप्रिय अल्ट्रा टुर मोन्टे रोसा (यूटीएमआर) को मिसाबेल १०० किलोमिटर म्याराथन दौडमा महिलातर्फ रसिला तामाङ प्रथम र अनिता राई तेस्रो भएकी छन्।
पुरुषतर्फ भीम गुरुङले दोस्रो स्थान हासिल गरेका छन्। स्विजरल्यान्डको ग्राचेनमा आयोजित मिसाबेल १०० अन्तर्गत १०४ किलोमिटरको दौड रसिलाले १८ घन्टा ५८ मिनट २८ सेकेन्डमा पार गरी प्रथम भएकी हुन्।
अनिताले २० घन्टा २४ मिनट १८ सेकेन्डमा पूरा गरी तेस्रो स्थान ओगटेकी हुन्। उनी जम्मा ८ सेकेन्डको झिनो अन्तरमा दोस्रो हुन सकिनन्। चेज रिपब्लिकका मिसेला मेर्टोभाले २० घन्टा २४ मिनट १० सेकेन्डमा पूरा गरी दोस्रो भइन्।
रसिला आयोजककै खर्च र व्यवस्थापनमा स्विजरल्यान्ड पुगेकी हुन् भने अनिता मीरा राई इनिसिएटिभको सहयोगमा दौडिएकी हुन्। युरोपको यो दौड निकै टेक्निकल मानिन्छ।
पुरुषतर्फको सोही दौडमा पूर्व विश्व कीर्तिमानधारी भीम गुरुङले दोस्रो स्थानमा चित्त बुझाएका छन्। उनले उक्त दौड १६ घन्टा २९ मिनट २९ सेकेन्डमा पार गरेका थिए। स्विजरल्यान्डमा दानियल बेर्च्टोल्डले प्रथम हासिल गरेका छन्। गुरुङले केही वर्षअगाडि सोही प्रतियोगिताअन्तर्गत १७० किलोमिटर दौड जितेका थिए।
गुरुङले एकपटक विश्व वरीयताका शीर्ष धावक किलियन जोर्नेटको कीर्तिमान भंग गरेका थिए भने चीनको स्काइरनमा उनको कीर्तिमान कायमै छ। उनले दर्जनौं अन्तर्राष्ट्रिय स्वर्ण पदक जितिसकेका छन्।
दौडमा ३ नेपालीले सहभागिता जनाएका थिए। तिनै जना पदकका साथ मंगलबार नेपाल फर्किंदै छन्।
यूटीएमआर मोन्टे रोसा संसारकै आकार्षक ट्रैल रेस कोर्स मानिन्छ।
प्रतिक्रिया