जापानको नागोयामा हुने २० औँ एसियाली खेलकुदमा नेपालले इस्पोर्ट्समा सहभागिता जनाउने पक्का भएको छ।
नेपाल इस्पोर्ट्स संघ (नेसा) ले बिहीबार एक विज्ञप्ति जारी गर्दै इस्पोर्ट्समा नेपाल सहभागी हुने जानकारी गराएको हो।
एसियाली ओलम्पिक परिषद् र एसियन इलेक्ट्रोनिक स्पोर्ट्स फेडेरेसनले तय गरेको छनोट प्रक्रियाअनुसार इस्पोर्ट्स संघले आफ्ना खेलाडी छनोट गरेका हुन्।
नेपालमा एईएसएफबाट मान्यता प्राप्त राष्ट्रिय संस्था नेपाल इस्पोर्ट्स संघले ‘छैटौँ नेपाल इस्पोर्ट्स च्याम्पियनसिप एन्ड एक्स्पो २०२६-रोड टु द एसियन गेम्स’ आयोजना गर्दै राष्ट्रिय छनोट सम्पन्न गरेको थियो।
राष्ट्रिय छनोटपछि नेपाली खेलाडीहरूले आधिकारिक क्षेत्रीय छनोट प्रतियोगितामार्फत एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरेका हुन्।
अनर अफ किङ्सको छनोट मलेसियाको क्वालालम्पुर, पब्जी मोबाइलको भियतनामको हो ची मिन्ह सिटी र मोबाइल लेजेन्ड्सस् ब्याङ ब्याङको छनोट सिंगापुरमा सम्पन्न भएको थियो।
ई-फुटबल विधाका खेलाडी भने आधिकारिक छनोट प्रणालीमार्फत प्रत्यक्ष रूपमा छनोट भएका थिए।
ई-फुटबल मा माबिन दाहाल र युनिश कोजूले नेपालकातर्फबाट स्पर्धा गर्नेछन्।
अनर अफ किङ्समा सुशांककुमार राय, स्वस्तिक महर्जन, विजय राई, सुशील तामाङ, सुयोगराज पौडेल र आशिष कुँवर छनोट भए। पब्जी मोबाइलमा समीर कोस्टेलो, रोहित तामाङ, सौरभ तामाङ, सोनु कार्की र दिपेश गुरुङले भाग लिनेछन्।
सबै खेलाडी आधिकारिक छनोट प्रक्रियामार्फत उत्कृष्ट प्रदर्शनका आधारमा छनोट भएका नेसाले जनाएको छ।
२० औँ एसियाडमा नेपालले इस्पोर्ट्ससहित २३ खेलमा भाग लिनेछ।
Shares

प्रतिक्रिया