खेल


ए डिभिजन लिगः मनाङको तेस्रो जित, कान चिथोर्ने एकराजलाई रातो कार्ड

ए डिभिजन लिगः मनाङको तेस्रो जित, कान चिथोर्ने एकराजलाई रातो कार्ड

नेपालखबर
पुस १०, २०७६ बिहिबार ८:२२,

मनाङ मर्स्याङ्दी क्लबले काठमाडौंमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १–० ले पराजित गर्दै लिगमा तेस्रो जित निकालेको हो।

मनाङको जितमा जगजित श्रेष्ठले खेलको २५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। भिडाल लुइसको प्रहार डिफ्लेक्ट भए पनि जगजितले वान टचमा गोल गरेका थिए। राष्ट्रिय टोलीका पूर्वसदस्य जगजित लिगकै लागि अष्ट्रेलियाबाट स्वदेश फर्केका हुन्।

मनाङविरुद्धको खेलमा बीबीसीले सुरुवातमै अग्रताको मौका पाए पनि गोल गर्न सकेन। खेलको तेस्रो मिनेटमा बीबीसीका कप्तान अनिल गुरुङको प्रहार पोस्ट नजिकबाट बाहिरियो। २३औं मिनेटमा मनाङका विमल राना वान टु वानमा गोल गर्नबाट चुके। २५औं मिनेटमा विमलको अर्को प्रहार गोलकिपरले सहजै बचाए।

खेलको ७४औँ मिनेटमा बीबीसीका विजय गुुरुङको कानमा चिथोरेपछि मनाङका एकराज बुढाथोकीले रातो कार्ड खाँदै मैदान छाडेका थिए। अघिल्लो वर्ष लिग जित्दाका अधिकांश खेलाडीले क्लब छाडे पनि मनाङले आफ्नो पुरानो छविलाई निरन्तरता दिँदै लगातार तेस्रो जित निकालेको छ।

मनाङले यसअघि भएको पहिलो खेलमा एपीएफलाई २–० तथा आर्मीलाई १–० गोल अन्तरले पराजित गरेको थियो। यता बीबीसीले भने १ खेलमा जित र २ मा हार व्यहोरेको छ। पहिलो खेलमा मछिन्द्रसँग २–० ले पराजित भएको बीबीसीले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–० ले हराएको थियो।

बिहीबारै हुने अर्को खेलमा जावलाखेल र संकटा आमनेसामने हुनेछन्। दशरथ रगंशालामा दिउँसो ३ बजे हुने खेलमा जावलाखेल अपराजित यात्रालाई निरन्तरता दिने दाउँमा हुनेछ। थ्रीस्टारसँग पहिलो खेलमा अंक खोस्न सफल जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई पराजित गरको थियो।

च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो। जावलाखेलको २ खेलबाट ४ अंक छ । संकटाको २ खेलबाट ३ अंक छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad