टर्कीमा स्थानीय समयअनुसार सोमबार बिहान ४ बजे आएको ७.८ म्याग्निच्युडको भूकम्पले भत्किएको भवनको भग्वाशेषमा एक चर्चित फुटबल स्टार पुरिएका छन्।
इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसेका हुन्।
अहिलेसम्म उक्त भूकम्पका कारण १६ सय मानिसले ज्यान गुमाइसकेका छन्। यस्तोमा आत्सुको अवस्था के छ भन्ने खुलिनसकेको बेलायती अनलाइन डेलीमेलले जनाएको छ।
टर्कीस्थित अधिकारीहरुका अनुसार घानाका अन्तर्राष्ट्रिय खेलाडी आत्सु पुरिएको भवनको भग्वाशेषमा खोजी तीव्र पारिएको छ। आत्सु पछिल्लो समय टर्किस सुपर लिग क्लब हातायोस्पोरबाट खेलिरहेका थिए।
३१ वर्षीय उनी यसअघि सन् २०१३ मा इङ्लिस क्लब चेल्सीमा पनि आवद्ध भएका थिए। तर उनले चेल्सीबाट खेल्न पाएनन्। उनलाई क्लबले ऋणमा इङ्लिस क्लबहरु एभर्टन र न्युक्यासलमा पठाएको थियो।
उनी भवनमा पुरिएपछि पूर्वक्लब न्युक्यासलले राम्रो समाचारका लागि प्राथना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ। उनले न्युक्सासलमा रहँदा १०७ खेल खेल्दै ८ गोल गरेका थिए। त्यसपछि उनी सन् २०२१ मा साउदी अरेबियाको अल रायद क्लबमा आवद्ध भएका थिए।
त्यसपछि अघिल्लो सिजन उनी साउदीबाट टर्की पुगेका थिए। आत्सुले यही आइतवार मात्रै हातायोस्परबाट टर्किस लिग खेलेका थिए। उक्त खेलमा उनले खेलको अतिरिक्त समयको सातौँ मिनेटमा गोल गर्दै टिमलाई जिताएका थिए।
त्यसपछि उनले ट्विट गर्दै टिमलाई महत्वपूर्ण जित दिलाएकोमा खुसी पनि व्यक्त गरेका थिए। सोमबार बिहानको भूकम्प हातायोस्पर क्लबकै होम ग्राउन्ड रहेको काहारामान्मरास रहेको थियो।
उनी पुरिएपछि हातायोस्परका एक खेलाडी ओन्युर इर्गुनले इन्स्टाग्राममा उनी बेपत्ता भएको इन्कार गरेका छन्। तर टर्किस क्लब एनि मालात्योस्परका किपर अहमेद ट्युर्कस्लानले भने आत्सु बेपत्ता रहेको जनाएका छन्।
प्रतिक्रिया