ad ad

खेल


जब अल्ट्रा धावक मिरा र यूएसएड प्रमुख समन्था सेल्फी लिँदै दौडिए ...

जब अल्ट्रा धावक मिरा र यूएसएड प्रमुख समन्था सेल्फी लिँदै दौडिए ...

समन्था र मिरा दौडिँदै (तस्बिर : उत्सव शाक्य)


लक्ष्मी जि.सी
माघ २५, २०७९ बुधबार १७:५४, काठमाडौँ

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (यूएसएड)की प्रमुख प्रशासक समन्था पावर दुई दिने भ्रमणका क्रममा नेपालमा छिन्। 

मंगलबार नेपाल आएकी उनको राजनीतिक भेटघाटको रफ्तार तीव्र भइरहँदा बुधबार भने उनले केही समय खेलकुद क्षेत्रलाई छुट्याइन्।  

समन्थाले बुधबार नेपालकी चर्चित अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मिरा राईसँग २ किलोमिटर ट्रेल दौड पूरा गरेकी हुन्। 

काठमाडौंको शिवपुरीस्थित जनजागृति स्कुलबाट कपन गुम्बासम्म समन्था र मिरासँगै अन्य सहभागीले दौड पूरा गरेका थिए। 

‘उहाँकै प्रस्तावमा दौडिएँ, आभार छु’
वरिष्ठ अमेरिकी कूटनीतिज्ञसँगको २ किमि दौडपछि मिरा राई निकै खुसी देखिइन्। 

उनले नेपालखबरसँग भनिन्, ‘नेपालमा आउँदा म र इनिसिएटिभ टोलीबीच दौडका लागि प्रस्ताव गर्नुभएको थियो। उहाँ र यूएसएड परिवारप्रति एकदम आभार छु।’ 

यो अवसरले नेपालको खेलकुदबारे उनीसँग प्रत्यक्ष कुराकानी गर्ने र अनुभव साटासाट गर्ने अवसर मिलेको मिराले बताइन्। 

समन्थासँगको ट्रेल रेस गर्न पाउँदा मिराले निकै गर्व महशुस गरेको उल्लेख गरिन्। 

‘खेल पर्यटनबारे कुराकानी’
समन्था र मिराबीच नेपालले खेलकुद पर्यटनमा बोकेको सम्भावनाबारे पनि कुराकानी भएको थियो। 

‘नेपालमा ट्रेल रनिङ एकदमै धेरै सम्भावना बोकेको खेल हो’, मिराले दौडपछि नेपालखबरसँग भनिन्, ‘हामी धेरै डाँडाकाडाँहरुमा दौडिन्छौँ, त्यसैले दौडको समयमा खेलकुद पर्यटनको विषयमा कुराकानी भयो।’
 
दौडसँगै मिराले आफ्नो मिरा राई इनिसियटीभको बारेमा पनि समन्थालाई जानकारी गराएकी थिइन्। 

मिरा राई इनिसियटिभमा अहिले चौथो ब्याचका युवतीहरुले प्रशिक्षण लिइरहेका छन्। मिराले त्यहाँका गर्ल्सबारे पनि समन्थासँग कुराकानी गरेको बताइन्। 

उनका अनुसार पछिल्लो समय मानिसहरु पहाड छाडेर सहरतिर झरिरहेको, जलवायु परिवर्तनको कारण अहिले समयमा पानी नपर्ने गरेकोबारे कुराकानी भएको थियो। 

यसले पहाडमा बस्न गाह्रो भएको लगायतबारे कुराकानी भएको मिराको भनाइ छ।  

ट्रेल रनिङमा सहयोग गर्ने आशा
यसबाहेक समन्थासँग फ्लाइट रनिङ र ट्रेल माउन्टेन रनिङमा के भिन्नता छ भन्ने कुराहरु पनि सेयर गर्ने अवसर पाएको मिराले सुनाइन्। 

‘म र मेरो टिमसँग दौडिन चाहनुभएकोमा उहाँ सम्बन्धित सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छु’, मिराले थपिन्, ‘नेपालमा हामी स्पोर्टस गर्न चाहन्छौँ, स्पोर्टसमा लागेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो। यसमा उहाँले केही सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ।’ 

आगामी दिनमा उनले ट्रेल रनिङमा सहयोग गर्नेमा आशावादी भएको मिराले उल्लेख गरिन्। 

‘विदेशी धावकहरुको सहभागिता कसरी बढाउन सकिन्छ भनेर छलफल भयो’, उनले भनिन्, ‘उहाँसँग दौडिने भन्ने कुरालाई व्याख्या गर्न सक्दिन, खुसीको सीमा छैन!’  

सेल्फी खिच्दै दौडिए 
उनीहरुको दौड निकै रोमाञ्चक भएको थियो। सो क्रममा सेल्फी खिच्दै दौडेको मिराले बताइन्। 

‘बीचमा गफ गर्दै सेल्फी लिँदै दौडेको हो’, उनले भनिन्, ‘स्थानीय पर्यटनको कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे पनि छलफल भयो।’  

मिरा राई इनिसिएटिभले आगामी फेब्रुअरी १८ मा स्तूपा रेस आयोजना गर्दै छ। मिरा अहिले त्यसको तयारीमा पनि व्यस्त छिन्। स्तूपा रेसमा स्वयम्भूबाट शिवपुरी पार्कसम्म रनिङ हुने उनको भनाइ छ।

यसमा सबैलाई सहभागिताका लागि मिराले अनुरोध गरेकी छिन्। 

‘स्तूपा दौडमा सहभागी हुनका लागि अहिले अनलाइनबाट नाम दर्ता भइरहेको छ’, मिराले जानकारी दिइन्, ‘१६ फेब्रुहरीसम्म नाम दर्ताको समय रहेको छ। अहिलेसम्म १ सय जनाले नाम दर्ता गराउनुभएको छ।’ 

नेपालमा रहेकी समन्थाले मंगलबार भक्तपुरका रहेको आदर्श माविमा भ्रमण समेत गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .