१६ औँ एसियन क्रस कन्ट्री च्याम्पिनयसिपमा नेपालले २ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको छ।
गोकर्ण गल्फ रिसोर्टमा मंगलबार सम्पन्न च्याम्पियनसिपमा नेपालले ८ पदक जितेको हो। नेपालले पुरुष सिनियरतर्फ व्यक्तिगत र टिम इभेन्ट दुवैमा स्वर्ण पदक हात पारेको छ।
नेपाल एथलेटिक्स संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले ऐतिहासिक स्वर्ण पदक जितेको हो।
नेपालले सिनियर र जुनियर महिलामा समान २ रजत पदक हात पारेको छ। जुयिनर पुरुषतर्फ नेपालले टिम इभेन्टमा कास्य पदक जितेको छ।
सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जिते। नेपालकै मुकेशबहादुर पालले कास्य पदक जिते। जापानका डाइची कामिनोले रजत पदक पाए।
२६ जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालका मुकेशबहादुर पाल ३४ मिनेट ३३.३९ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जिते।
सिनियर पुरुष टिम इभेन्टमा पनि नेपालले स्वर्ण पदक जितेको छ। दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जिते । इरानले रजत र भारतले कास्य पदक जितेको छ।
सिनियर महिला १० किमी दौडमा नेपालका लागि राजपुरा पछाईले रजत पदक जितिन्। राजपुराले निर्धारित दूरी ४१ मिनेट ३१ सेकेण्डमा पार गरिन्।
त्यही स्पर्धाको टिम इभेन्टमा नेपालले रजत पदक जितेको हो। राजपुरा पछाई, पुष्पा भण्डारी र वृन्द्रा धनाके श्रेष्ठले १० किमी दौडको दूरी २ घण्टा ७ मिनेट ५७ सेकेण्डमा पार गर्दै रजत पदक जिते।
जुनियर पुरुष (यू २०) ८ किलोमिटर दौडमा नेपाली टोलीले कास्य पदक जितेको छ।
नेपालका शेरबहादुर अधिकारी, सञ्जय दमाई र विकेश घिमिरेले १ घन्टा ३१ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक पक्का गरे।
महिला जुनियर ६ किलोमिटर दौडमा रजत पदक हात पारेको छ। नेपालकी राममाया बुढा भारतकी श्रुती श्रीधर रेडाकरसँग फोटो फिनिसमा पछि पर्दै रजत पदकमा चित्त बुझाउन बध्य भइन्।
दुवैले २४ मिनेट १५ सेकेन्डमा दूरी तय गरेपछि फोटो फिनिसमा भारतकी श्रुतीले बाजी मार्दै स्वर्ण पदक जितिन्।
टिम इभेन्टमा नेपालले रजत पदक जित्यो। नेपालका राम माया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते।
प्रतिक्रिया