ad ad

खेल


आईसीसी विश्वकप लिग २ : आज पीएनजीसँग भिड्दै नेपाल, लक्ष्य विश्वकप छनोट

आईसीसी विश्वकप लिग २ : आज पीएनजीसँग भिड्दै नेपाल, लक्ष्य विश्वकप छनोट

फाइल तस्बिर : नेपाली क्रिकेट टिम


नेपालखबर
फागुन २९, २०७९ सोमबार ६:५८, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय खेलमा घरेलु टोली नेपालले आज सोमबार पपुवा न्यु गिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। 

सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्‍याउन चाहन्छ।

यसअघि आइतबार यूएईलाई १ सय ७७ रनको फराकिलो अन्तरले हराई ऐतिहासिक जित हासिल गर्दै ४ वर्षका लागि ओडीआई मान्यता जोगाएको नेपाल उच्च मनोबलमा मैदान उत्रनेछ। 

सिरिजका बाँकी दुई खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ। घरेलु समर्थकको साथमा नेपाली टोली विश्वकप छनोटमा स्थान बनाउँदै अर्को किर्तिमान कायम गर्ने दाउमा मैदान उत्रनेछ। 

उता समूह चरणको पुछारमा रहेको पपुवा न्युगिनीले भने खेललाई प्ले अफ छनोट तयारीका लागि लिनेछ। समूह चरणको पुछारमा रहेको पीएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ। नेपाललाई जिते पनि पीएनजीको अंक तालिकामा कुनै परिवर्तन हुनेछैन। 

लिग २ का ३४ खेल खेलेको नेपाल १७ मा जित र १५ खेलमा हार भोग्दै ३६ अंकमा तालिकाको चौथो स्थानमा छ।

नेपालले आजको खेलमा पीएनजीलाई हराए अंक तालिकामा २ अंक थप्नेछ। लिग २ सिरिजको अन्तिम खेलमा युएईलाई हराए नेपाल ४० अंक बनाउँदै तेस्रो स्थानमा उक्लनेछ। र, विश्वकप छनोटमा स्थान बनाउनेछ। सिरिजको एक हारले पनि नेपालले विश्वकप छनोट खेल्न प्लेअफको बाटो हुँदै जानुपर्नेछ। 

३४ खेलबाटै यूएईले १४ खेलमा जित र १७ खेलमा हार भोग्दै ३१ अंकमा छैटौँ स्थानमा छ। समान खेलबाट ५ मा जित र २८ खेलमा हार भोगेको पीएनजीले ११ अंक बनाउँदै तालिकाको पुछारमा छ। लिग २ का सबै खेल खेलेको अमेरिका १६ मा जित र १७ मा हार भोग्दै ३५ अंकका साथ पाँचौँ स्थानमा छ। आइतबार नेपालले हासिल गरेको जितले अमेरिका एक स्थान तल झरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .