विश्वकप फुटबलको सेमिफाइनल खेल जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले मैदानमै ‘फकल्यान्ड द्वीप हाम्रो देशको हो’ लेखिएको ब्यानर प्रदर्शन गरेको विषयमा विश्व फुटबल महासंघ (फिफा) ले अनुसन्धान सुरु गरेको छ।
फिफाको नियमविपरीत अर्जेन्टिनी फुटबल टोलीले राजनीतिक सन्देशको ब्यानर प्रदर्शन गरेको भन्दै कारबाही गरिनुपर्ने आवाज उठेपछि यस विषयमा अध्ययन थालिएको हो।
बीबीसीका अनुसार अर्जेन्टिनालाई कारबाही गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुअघि फिफाले ‘म्याच रिपोर्ट मूल्यांकन गरिरहेको छ।’
विज्ञप्तिमा फिफाका प्रवक्ताले भनेका छन्, ‘मानक प्रक्रियाअनुसार फिफाको स्वतन्त्र अनुशासन समितिले हाल खेल रिपोर्टको समीक्षा गरिरहेको छ र फिफा अनुशासन संहिताका आधारमा सम्भावित कदम चाल्नुअघि सम्बन्धित परिस्थिति विचार गरिरहेको छ।’
अर्जेन्टिनाले फकल्यान्डसम्बन्धी ब्यानर प्रदर्शन गरेको यो पहिलो घटना होइन। सन् २०१४ को विश्वकपअघि स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिनाका खेलाडीले त्यस्तै ब्यानर प्रदर्शन गरेका थिए। त्यसबेला फिफाले अर्जेन्टिना फुटबल संघलाई ३० हजार स्विस फ्र्याङ्क जरिवाना गरेको थियो।
यस्तै सन् २०१२ को लन्डन ओलम्पिकमा जापानविरुद्धको क्षेत्रीय दाबीसम्बन्धी ब्यानर प्रदर्शन गरेका दक्षिण कोरियाका खेलाडी पार्क जोङ-वुलाई दुई विश्वकप छनोट खेल खेल्न प्रतिबन्ध लगाइएको थियो।
यसैगरी विश्वकप २०२२ मा कोसोभोसम्बन्धी राजनीतिक ब्यानर राख्दा फिफाले सर्बिया फुटबल संघलाई २० हजार स्विस फ्र्याङ्क जरिवाना गरेको थियो।
अर्जेन्टिनालाई अमेरिकाको समर्थन
फकल्यान्ड ब्यानर विवादमा विश्वकपको एक आयोजक अमेरिकाले भने अर्जेन्टिनाको पक्ष लिएको छ।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ह्वाइट हाउस फिफा टास्क फोर्सका प्रमुख एन्ड्रयु गिउलियानीले भने, ‘टोलीसँग संयुक्त राज्य अमेरिकामा यस्तो अभिव्यक्ति दिने अवसर र अधिकार छ।’
उनले अमेरिकी संविधानको पहिलो संशोधनलाई उद्धृत गर्दै थपे, ‘हामी हाम्रो पहिलो संशोधनअन्तर्गत संयुक्त राज्य अमेरिकामा हामीलाई प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं।’
यस्तो हो फकल्यान्ड विवाद
दक्षिण एटलान्टिक महासागरमा रहेको फकल्यान्ड द्वीप बेलायतको अधीनमा छ। यस टापुलाई बेलायत आफ्नो समुद्रपारको भूभाग मान्छ। तर अर्जेन्टिनाले फकल्यान्डलाई ‘माल्भिनास’ नामले सम्बोधन गर्दै आफ्नो जमिन भएको दाबी गरिरहेको छ।
यही विषयमा सन् १९८२ मा दुई देशबिच युद्धसमेत भएको थियो। जसमा अर्जेन्टिनाका ६४९ सैनिक र बेलायतका २५५ जना सुरक्षाकर्मी मारिएका थिए। साथै ३ जना स्थानीयको समेत मृत्यु भएको थियो।
Shares

प्रतिक्रिया