नेपाल एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर्स महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
मंगलबार भएको खेलमा आयोजक ललितपुर मेयर्स ११ लाई ३६ रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। एपीएफले ४ खेलबाट ८ अंक जोडेको छ। ललितपुर भने अंक बिहिन हुँदै बाहिरियो।
एपीएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो।
ललितपुरका लागि सोनी पाख्रिनले बनाएको १५ रन नै सर्वाधिक रह्यो। लक्ष्मी चौधरी र सिमाना केसीले समान १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
ललितपुरलाई कम स्कोरमा रोक्न बिनु बुढा र राजमति ऐरिले दुई विकेट लिए। इन्दु बर्मा, सिता रानामगर र सुष्मा श्रेष्ठले एक एक विकेट आफ्नो नाममा गरे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १० रनको योगफल तयार पारेको थियो।
ओपनर ज्योति पाण्डे ६ र कप्तान सिता रानामगर १९ रनमा क्याच आउट भए।
इन्दु बर्मा ७ रनमा क्याच आउट भईन्। रोमा थापा ४ रनमा बोल्ड आउट भइन्। सरिता मगर ६ रनमा एलबीडब्लु धरापमा परिन्। बिनु बुढा १२अ रनमा क्याच आउट भइन्।
१०.४ ओभरमा ५–६० को अवस्थामा रहेको एपीएफका लागि मध्यक्रमका राजमति ऐरि र बिनु बुढाले ४३ रनको साझेदारी गर्दै इनिङस् उकासे। बिनु १२ रनमा क्याच आउट भइन्।
राजमति ४१ र मञ्जु बोगटी ३ रनमा नटआउट रहे। राजमतिले ५२ रनमा ४ चौका हानिन्।
ललितपुरका लागि सृष्टि जैसी र सिमाना केसीले समान २ विकेट लिए। सोनी पाख्रिन र मनिषा उपाध्यायले एक एक विकेट आफ्नो नाममा गरे।
आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र मधेश प्रदेश खेल्नेछन्।
प्रतिक्रिया