साउदी प्रो लिगको वित्तीय प्रभावले खेलाडी स्थानान्तरको बजार नै परिर्वतन गरेको म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले बताएका छन्।
पछिल्लो समय भइरहेको खेलाडीको स्थानान्तरलाई लिएर सचेत हुन आवश्यक रहेको उनले बताए।
डिसेम्बरमा पोर्चुगलका स्टार स्ट्राइकर त्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाले प्रो लिगका लागि भित्र्याएपछि यो समरमा युरोपका कयौँ ठूला खेलाडी गइसकेका छन्।
यी ठूला नाममा अल्जेरियाका रियाद महारेज पनि भएका छन्। उनी प्रो लिग क्लब अल आहिलमा ३० मिलियन पाउन्डमा आवद्ध हुने म्यानचेस्टर सिटीबाट बिदाइ भइसकेका छन्।
‘साउदी अरेबियाले फुटबल बजारमा परिवर्तन ल्याएको छ’, गार्डिओलाले भने, ‘केही महिनापहिले जब रोनाल्डो एक्लै जाँदा पनि कसैले पनि सोचेका थिएनन्, यति धेरै शीर्ष खेलाडीहरु साउदी लिगमा खेल्न जान्छन्।’
भविष्यमा त्यहाँ अझ धेरै खेलाडी जान सक्ने बताउँदै युरोपियन क्लबहरु सचेत हुन आवश्यक रहेको उनले बताए।
रियाद महारेजले अविश्वसनीय प्रस्ताव पाएकाले सिटीले त्यो सम्झौता नगर भन्न नसकेको उनले बताए।

सिटीले रियादलाई ३० मिलियन पाउन्डको सम्झौतामा बेच्न सहमत भएको थियो। महारेजपछि एलन सेन्ट म्याम्सिमिन पनि साउदी अरबको लागि प्रिमियर लिग छाड्ने अर्को खेलाडी बन्न तयार भएका छन्। उनी अल आहिलमा महारेजसँगै जोडिने छन्।
प्री-सिजन एशिया भ्रमणबारेमा ग्वार्डिओलाले साउदी प्रो लिगलाई आफूहरुको खतराभन्दा एक वास्तविकता रुपमा लिनुपर्ने बताए।
साउदी अरेबियाले आफ्नो लिग बलियो बनाउन चाहेकाले उनीहरुको लगानीलाई स्वभाविक मान्नुपर्ने उनको भनाइ छ।
यसअघि प्रिमियर लिगका प्रमुख कार्यकारी रिचर्ड मास्टर्सले फुटबलमा साउदी अरेबियाको बढ्दो प्रभावबारे अहिले नै चिन्तित नहुने बताएका थिए।
Shares

प्रतिक्रिया