खेल


चीनमा सोमपालको ठट्टा : सपिङमा आइयो पैसा छैन, सरकारले दिएको नगद पुरस्कार पाएको छैन

चीनमा सोमपालको ठट्टा : सपिङमा आइयो पैसा छैन, सरकारले दिएको नगद पुरस्कार पाएको छैन

चिनियाँ नागरिकसँग सेल्फी लिँदै नेपाली क्रिकेटर सोमपालसहित टीम मेट


नेपालखबर
असोज १५, २०८० सोमबार १६:५४, काठमाडौँ

नेपाली क्रिकेट टोली यतिबेला चीनको हाङझाओमा जारी एसियाली खेलकुदमा व्यस्त छ।

नेपाली टोलीले समूह चरणमा मंगलोलिया र माल्दिभ्सलाई फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनल यात्रा  तय गरिसकेको छ।

मंगलबार हुने क्वार्टर फाइनल भिडन्तमा नेपाली क्रिकेट टोलीको प्रतिद्वन्द्वी भारत परेको छ। नेपाली कप्तान रोहित पौडेलले लक्की ड्र तान्दा भारत प्रतिद्वन्द्वी परेको हो। 

एसिया कप खेलेर एसियाड खेल्न चीन पुगेको नेपाली टोलीले अझैसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेको नगद पुरस्कार पाउन सकेको छैन। 

यसअघि अमेरिका उड्नुअघि गत भदौ २८ गते प्रधानमन्त्री प्रचण्डले खेलाडीका लागि घोषित सबै पुरस्कार दुई दिनभित्र प्रदान गरिसक्ने बताएका थिए।

तर प्रचण्ड राष्ट्रसंघको महासभाबाट सिधै चीन पुगेर एसियाड उद्घाटनमा भाग लिएर फर्किँदा पनि खेलाडीले अझैसम्म पुरस्कार पाएका छैनन्।

एसियाडमा सहभागी हुन चीन उड्नुअघि असोज ७ गते नेपाली कप्तान रोहितकुमार पौडेलले आफूहरुले कयौँ पटक सरकारले दिएको पुरस्कार नपाएको बताइसकेको भन्दै दिक्दारी मानेका थिए।

अहिले चीनमा रहेको नेपाली टोली क्रिकेटसँगै फुर्सदमा घुमघाम पनि गर्दैछ। उक्त घुमघामका क्रममा नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले भ्लगसमेत बनाउन भ्याएका छन्।

हाङझाओस्थित एक सपिङ सेन्टरमा नेपाली टोली छिर्ने क्रममा सोमपालले ठट्टै ठट्टामा एउटा गम्भीर कुरा निकाले।

आफ्ना टीममेटसहित सपिङ सेन्टरमा देखिएका उनले पैसा नभए पनि आफूहरु यहाँ आएको बताए। 

उनले पैसा नभए पनि लाज पचाएरै आफूहरु सपिङ सेन्टरमा किनमेल गर्न आएको भन्दै साथीहरुसँग ठट्टा गरे। 

‘चीनमा आएका छौँ। पैसा छैन फेरि पनि सपिङ सेन्टरमा आयौँ। पैसा नभए पनि हामी फेरि लाज पचाएरै सपिङ गर्न आइयो’, उनले टीममेटसँग भ्लगमा ठट्टा गर्दै भने।

त्यहीबेला सरकारले चाहिए जति दिएको त पैसा, किन छैन भनेर सन्दीप जोराले सोध्दा उनले सरकारको घोषणालाई देखाए। ‘सरकारले दिएको छ तर पाएको छैन’, उनले त्यहाँ आफूहरुको वास्तविकता सुनाए। 

यसअघि असोज ७ गते एसियाडमा सहभागी हुन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम अझै हात नलागेको बताएका थिए। 

उनले त्यसबेला अझै पनि आफूहरु आउँछ भन्नेमा आशावादी रहेको उनले बताएका थिए। एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको उनले बताएका थिए। 

सरकारले घोषणा गरेको रकम आफूले पटक पटक हात नलागेको बताएका उनले त्यसबेला अझै पनि आफूहरु आउनेमा आशावादी रहेको बताएका थिए। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .