खेल


काठमाडौँ रेन्जर्सविरुद्ध वीरगन्जको शानदार जित, ओपोकुको ह्याट्रिक

काठमाडौँ रेन्जर्सविरुद्ध वीरगन्जको शानदार जित, ओपोकुको ह्याट्रिक

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ५, २०८० बिहिबार १९:३८, काठमाडौँ

विलियम ओपोकुको ह्याट्रिकसहित दोस्रो हाफमा शानदार प्रदर्शनमा साथ वीरगन्ज युनाइटेड एफसीले काठमाडौं रेजर्सलाई हराएको छ। 

नेपाल‌ सुपर लिगमा बिहीबार  पहिलो हाफ १-१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा तीन गोल गर्दै वीरगन्जले ४-१ को जित हात पारेको हो।

जित पछि वीरगन्जले पनि प्लेअफमा पुग्ने आफ्नो सम्भावना जीवितै राखेको छ। वीरगन्जको ६ खेलमा ८ अंक भएको छ। पाँचौं स्थानमा रहेको पराजित काठमाडौंको भने ७ खेलमा ९ अंक भएको छ।

काठमाडौं र ललितपुर बीच शनिबार हुने दोस्रो खेल प्लेअफ पुग्ने अन्तिम मौका हुनेछ। अन्य खेलको नतिजा सोचेलायक भएमा वीरगन्जले पनि सोही दिन दिउँसो हुने बुटवल विरुद्धको खेलमा जित हासिल गरेका प्लेअफमा आफ्नो स्थान बनाउन सक्ने छ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले सिधै फाइनलमा छनोट हुने क्वालिफायर खेल खेल्नेछन्। क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को क्वालिफायर खेल्न पाउनेछ।

दशरथ रंगशालामा २०औं मिनेटमा काठमाडौँले खेलमा अग्रता लियो। कुलदीप कार्कीको क्रस हिसुब थपलियाले नियन्त्रणमा लिन नसकेपछि तेज तामाङले क्लियर गर्ने क्रममा एन्केन्ग्वे जुनियरको सामु पुगेपछि उनले सहज गोल गर्दै खेलमा काठमाडौंलाई अग्रता दिलाए।

३७औं मिनेटमा काठमाडौंले अग्रता दोब्बर गर्ने सुनौलो अवसर पायो। दिपेन्क राज सिंह ठकुरीले बक्स भित्रबाट हिसुबमाथि फाउल गरेपछि काठमाडौंले पेनाल्टी पाएको थियो। तर शोखरुखको पेनाल्टी दीप कार्कीले बचाउन पुगे।

उता पहिलो हाफको अन्त्यतिर वीरगन्जले पनि पेनाल्टीमार्फत गोल गर्ने अवसर प्राप्त गर्यो। सुशिल लामाको प्रहारमा आन्द्रेस नियाले हेड गरेको बल रेफ्रीले ह्यान्डबल दिएपछि वीरगन्जले पेनाल्टी पाएको थियो। पेनाल्टीमा विलियम ओपोकुले गोल गर्दै खेल बराबरीमा ल्याए।

४६औं मिनेटमा वीरगन्जले खेलमा अग्रता लियो। काठमाडौंका अन्जन राईले आत्मघाती गोल गरेसँगै वीरगन्जले अग्रता लिएको हो। दिपेन्कले डिफेन्स लाइनबाट खेलेको लामो पासमे ओवेदलाई भेटाएपछि उनले खेलेको क्रसमा अन्जनले बल क्लियर गर्ने क्रममा बल आफ्नै जालिमा हाल्न पुगे।

५४औं मिनेटमा काठमाडौं बराबरी गर्नको नजिक पुग्यो। शोखरूखको राम्रो फ्रिकिक दीपले पोस्टको माथि धकेलिदिए। त्यसको दुई मिनेट पछि वीरगन्जले अर्को गोल थप्यो।

सुशील लामाको कर्नरमा ओपोकुले हेडर मार्फत आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३-१ को स्थितिमा पुर्याए। अर्को मिनेटमा ओपोकुले शानदार गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

सुशीलले नै खेलेको लामो बल नियन्त्रणमा लिएर उनले लगभग मैदानको मध्यभागबाट गाेललाइन भन्दा धेरै अगाडि रहेका काठमाडौं गोलरक्षक एन्जलको माथिबाट बललाई जालि चुमाए। 

७१औं मिनेटमा ओपोकुको फ्रिकिक पोस्टको केही माथिबाट बाहिरियो। ७७औं मिनेटमा किंगे ओलिभरको फ्रिकी दीपले सहजै समाते।

एनएसएलमा भोलि दुई खेल हुँदै छन्। पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी खेल्ने छन्।

पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न जित निकाल्न चाहने छ। उता धनगढीलाई पनि प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दवाव हुने छ।

दिनको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन्। जित हासिल गर्न सकेमा झापाको प्लेअफ पुग्ने सम्भावना रहने छ। चितवन भने प्लेअफ यात्राबाट बाहिरिसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .