बिहीबारदेखि घरेलु मैदानमा नेपालले क्यानाडासँग तीन खेलको एक दिवसीय सिरिजमा प्रतिस्पर्धा गरिरहेको छ।
सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोलीविरुद्ध २ सय २५ रनको सामान्य लक्ष्य दिएको छ।
सिरिजको पहिलो खेल चलिरहँदा बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भइसकेका सन्दीप लामिछानेको खोजी गर्दै नाराबाजी भएको छ।
खेल हेर्न पुगेका समर्थकहरूले अदालतबाट दोषी ठहर भएर राष्ट्रिय टोलीबाट निलम्बनमा परिसकेका सन्दीपको पक्षमा नाराबाजी गरेका हुन्। उनीहरूले वि वान्ट सन्दी र जस्टिस फर सन्दीप जस्ता नारा क्रिकेट चलिरहेका बेला लगाए।
अदालतबाट दोषी ठहर भएर नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनमासमेत परिसकेका सन्दीपको पक्षमा नाराबाजी भएपछि क्रिकेट मैदानमा तैनाथ प्रहरीलाई अवस्था सम्हाल्न मुस्किल पर्यो।
आईसीसीको मान्यताप्राप्त खेलमा अचानक अदालतबाट दोषी ठहर व्यक्तिको पक्षमा नाराबाजी भएपछि प्रहरीले तत्कालै अवस्थालाई नियन्त्रणमा लिने कोसिस गरेको थियो।
नाराबाजीमा उत्रिएकाहरूलाई प्रहरीले तत्कालै तितरबितर बनायो। नाराबाजीमा उत्रिएकामध्ये दुईजनालाई प्रहरीले क्रिकेट स्टेडियम क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
क्रिकेट हेर्न पुगेकाहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अभद्र गालीसहित नारबाजी गरे। उनीहरूले प्रधानमन्त्रीलाई चोरको संज्ञा दिँदै गालीसहितको नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
Shares

प्रतिक्रिया