बंगलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ।
बंगलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायकका रूपमा पदभार ग्रहण गरेका थिए।
विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाएका थिए।
ती विद्यार्थीहरूमध्येका एक अहिले अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री रहेका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बाबजुद शकिबलाई टोलीमा रहन अनुमति दिएका छन्।
‘हामीले खेलकुद सल्लाहकारसमक्ष टोलीलाई प्रस्तुत गर्यौँ’, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक इफ्तिखर अहमदले भने, ‘उहाँले शकिबलाई समावेश गरेकामा विरोध गर्नुभएन, उहाँले योग्यताका आधारमा टोली गठन हुनुपर्ने बताउनुभयो।’
हसिनालाई सत्ताबाट हटाउने र्याली आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक थिए। उनी र साथी विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषद्का सदस्य हुन्।
लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो। हसिनाको राजीनामापछि उनी देखिएका थिएनन्। उनी क्यानाडाबाट सिधै पाकिस्तानमा बंगलादेशी टोलीमा सामेलभए। क्यानाडामा उनले टी–२० प्रतियोगिता खेल्दै थिए।
Shares
प्रतिक्रिया