खेल


जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

नेपालखबर
पुस १३, २०८१ शनिबार १४:४६, महोत्तरी

नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा शनिबार यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे। 

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे। खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो।

खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकूल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए। 

मटिहानीको स्वागत ग्रहणपछि टोली आजै जलेश्वर नगरपालिकातर्फ अघि बढेको थियो। जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए। नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए।

त्यस अवसरमा नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए। विजयी टोली जलेश्वरबाट  एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै सर्लाहीतर्फ प्रस्थान गर्नेछन्।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफू्हरुलाई ऊर्जा मिलेको बताए।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ। शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो। टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad