खेल


यु-२० महिला फुटबल टोलीको बिदाइ

यु-२० महिला फुटबल टोलीको बिदाइ

नेपालखबर
साउन १४, २०८२ बुधबार १६:५०, काठमाडौँ

भुटानमा हुने एएफसी यु-२० महिला एसियन कप छनोट खेल्न नेपाली युवा टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एक कार्यक्रम गर्दै महिला टोलीलाई बिदाइ गरेको हो। 

छनोटका लागि टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले बिर्सना चौधरीको कप्तानीमा टोलीको घोषणा गरिसकेका छन्। बंगलादेशमा भएको साफ यु-२० महिला च्याम्पियनसिपमा उपविजेता बनेको टोलीबाट एक खेलाडी परिवर्तन गर्दै मुख्य प्रशिक्षक गुरुङ टोली बनाएका छन्। 

बंगलादेशमा खेलेको टोलीबाट झुमा विश्वकर्माको स्थानमा सजीना स्याङ्तान छनोटमा आएकी छिन्। बंगलादेशबाट फर्किएको नेपाली टोलीलाई केही आराम दिएर आफूले भुटानमा खेलाउने टोलीका मुख्य प्रशिक्षक गुरुङले बताएका छन्। 

कप्तान चौधरीले आफूहरू एसियन कपमा छनोट हुने लक्ष्यका साथ भुटान जान लागेको बताइन्। बिदाइपछि पत्रकारसँग कुरा गर्दै कप्तान चौधरीले भनिन्, 'कप्तानी दबाबका कारण बंगलादेशमा राम्रो सँग खेल्न सकिनँ तर भुटानमा राम्रो प्रर्दशन गर्नेछु।' 

युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राइ लगायतका पदाधिकारीले बिदाइ गरे। 

छनोटमा नेपाल रहेको समूहमा आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब रहेका छन्। यो समूहमा रहेको मंगोलियाले भने नाम फिर्ता लिएको छ। 

छनोटको पहिलो खेलमा नेपालले २१ गते बुधबार आयोजक भुटानसँग खेल्दै छनोटको सुरुवात गर्नेछ। दोस्रो खेलमा २३ गते शुक्रबार साउदी अरेबियासँग र र अन्तिम खेलमा २५ गते आइतबार कोरियासँग खेल्ने तालिका छ। 

छनोटका सबै खेलहरू थिम्पुस्थित चाङलिमिथान स्टेडियममा हुनेछ। छनोटको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपमा स्थान बनाउनेछ। छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहका विजेता टोली, उत्कृष्ट ३ उपविजेता टोलीले एसियन कपमा स्थान बनाउनेछन्। 

नेपाली टोली
गोलरक्षकः लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ 
डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पान्धक, सिम्रन राई, सन्जिता स्याङ्तान, गंगा रोकाया, अनिशा राई र सीता रोकाया 
मिडफिल्डरः कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी -कप्तान), सेनु परियार
फरवार्डः कुसुक खतिवडा, सुक्रिया मिया, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad