पहिलोपल्ट मोफसलमा आयोजना हुन लागेको नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२ औं संस्करणमा पोखरा महानगरपालिका प्रवद्र्धकको रूपमा रहने भएको छ।
२०६० सालदेखि निरन्तर आयोजना हुँदै आएको यो अवार्ड पहिलोपल्ट उपत्यका बाहिर आयोजना हुने तयारीमा छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले यसअघि नै आगामी भदौ २९ गते पोखरामा यस संस्करण हुने बताएको थियो।
बुधवार नेपाल खेलकुद पत्रकार मञ्च र पोखरा महानगरपालिकाबीच अवार्ड प्रवर्द्धनका लागि सम्झौता भएको छ। सम्झौतापत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्यले हस्ताक्षर गरे। पोखरा भ्रमण वर्ष २०२५ को अवसर पारेर पोखरा इभेन्ट सेन्टरमा उक्त अवार्ड हुँदैछ।
पोखरा महानगरपालिका मेयर आचार्यले अवार्डका लागि महानगरपालिकाले आर्थिक तथा नैतिक सहयोग गर्ने बताए। पोखरा देशकै ठूला अन्तर्राष्ट्रिय कार्यक्रमका लागि योग्य शहर रहेको हुँदा प्रतिष्ठित खेलकुद अवार्ड यस ठाउँमा आयोजना गर्न प्रोत्साहित गरिएको उनको भनाइ छ।
यसले पोखराको गरिमा र यहाँको खेलकुद क्षेत्रको परिचयलाई थप बलियो बनाउने मेयर आचार्यको विश्वास छ। पर्यटनको राजधानी पोखरामा प्रत्येक साता ठूला इभेन्टहरु हुने गरेको उल्लेख गर्दै मेयर आचार्यले पोखरालाई खेलकुद पर्यटनको पनि राजधानी बनाउने अभियानमा लागेको बताए।
मञ्चका अध्यक्ष अधिकारीले काठमाडौंबाहिर अवार्ड समारोह गर्नु निकै चुनौतीपूर्ण रहे पनि अवार्डलाई देशव्यापी रूपमा आयोजना गर्ने चुनौती स्वीकार गरेको बताए।
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड विश्वभरका खेल पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस) र एसियाली खेलुकद पत्रकार महासंघ (एआइपिएस एशिया) को नियमित क्यालेन्डर इभेन्ट पनि हो। एनएसजेएफ गण्डकीका अध्यक्ष एमबी आस्थाले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुलाई आफूहरुले निक्कै उत्साहका साथ लिएको बताए।
अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा वर्षको उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, टिम अफ दी इयर, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विधा समावेश छन्।
उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले जनही पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँको दरले पुरस्कृत गरिने नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव अञ्जन खड्काले जानकारी गराए।
Shares

प्रतिक्रिया